सन्तुलन गर्न १ करोड दिइएको मन्त्रीको भनाइ

  • 14 जुलाई 2014
तस्वीर कपीराइट bbc
Image caption बजेट भाषणमा प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोड रुपैँया दिने घोषणा अर्थमन्त्रीले गरेका हुन्।

अर्थ मन्त्री रामशरण महतले सबै क्षेत्रमा विकासको सन्तुलन मिलाउन निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत बजेटमा पैसाको भाग लगाइएको बताएका छन्।

बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोड रुपियाँका दरले स्थानीय विकासका निम्ति छुट्ट्याइएको प्रति विपक्षी लगायत कतिपय अर्थविदहरुले दुरुपयोग बढ्ने भन्दै तीव्र आलोचना गरेपछि अर्थमन्त्रीले त्यसको बचाउ गरेका हुन्।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटमाथिको छलफल कार्यक्रममा सोमबार बोल्दै मन्त्री महतले विभिन्न क्षेत्रमा रकम छर्नु परेको स्वीकार गरे।

बचाउ

तर उनले त्यसको मुख्य आसय विकासको सन्तुलन र स्थानीय मागको सम्बोधन रहेको भन्दै जोडदार बचाउ गरे।

“फेरि छरुवा बजेट आयो भन्ने दोष लागेको छ। छरुवापनि छ त्यसमा शंका छैन। त्यो सन्तुलन हो किनभने माग त्यसै किसिमको छ। ठूल्ठूला परियोजनाका साथसाथै स्थानीय तहको मागपनि पुरा गर्नुप-यो किनकि एउटा गाउँमा बस्ने मान्छेले तुरुन्तै केही फाइदा खोज्छ। जस्तोकि उसले आफ्नो गाउँमा बिजुली आएको अनि घर छेउ बाटो आइपुगेको देख्न खोज्छ,” उनले भने।

जोखिम

त्यसरी बाँडिएको रकमको दुरुपयोग हुने जोखिम धेरै रहेको भन्दै प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व अर्थ मन्त्री वर्षमान पुनले बरु स्थानLय निकायहरुमार्फत स्थायी संयन्त्र बनाएर विकास अघि बढाइएको भए उचित हुने बताए।

तर सरकारले चाहिं निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत छुट्टयाइएको रकम सोझै सांसदको हातमा नजाने बरु जिल्ला विकास समितिमार्फत विनियोजन गरिने जनाएको छ।

सांसदहरुले छनोट गरेका स्थानीय योजनाहरुलाई तत् तत् मन्त्रालय वा उपभोक्ता समूहमार्फत कार्यान्वयन गरिने पनि अधिकारीहरुले जनाएका छन्।

यसपालिको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोडका दरले २ अर्ब ४० करोड रुपियाँ अनि सांसदहरुलाई विगतमा दिईंदै आएको १० लाखलाई बढाएर १५ लाखका दरले ९० करोड छुट्टयाइएको छ।