जर्मनी नयाँ विश्व विजेता

  • 14 जुलाई 2014

अर्जेन्टीनालाई खेलको थप समयमा एक गोलले हराएपछि जर्मनी दक्षिण अमेरिकामा विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको छ।

वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका बायर्न म्युनिखका मारियो गोत्सेले नजिकैबाट गरेको 'भली' प्रहार शानदार गोलमा परिणत भएको थियो।

रियो दि जेनेरियोको माराकानामा रंगशालामा जर्मनीले हासिल गरेको विजय उसको चौथो विश्वकप उपाधि पनि हो।

तस्वीर कपीराइट AFP
Image caption जर्मनीले चौथो पटक विश्वकप उपाधी दक्षिण अमेरिकी राष्ट्र ब्राजीलमा चुमेको हो

विश्वकप फुटबलको फाइनल खेल झन्डै १ अर्ब मानिसहरुले टेलिभिजनमा हेरेको ठानिएको छ।

विजय

हालसम्म विश्वकपमा सबैभन्दा बढी गोल गरेका मिरोस्लाभ क्लोसको स्थानमा मैदानमा प्रवेश गरेका वैकल्पिक खेलाडी गोत्सेले थप समयमा गरेको गोलको सहयोगले जर्मनीले अर्जेन्टिनालाई सून्यका विरुद्ध एक गोलले हराएको हो।

खेलको ११३ औं मिनेटमा उनले आन्द्रे स्कुरीले बाँया कुनाबाट दिएको बललाई छातीले नियन्त्रणमा लिए र बल भुईमा खस्नु अगाडि नै कुशलतापुर्वक बायाँ खुट्टाले पोस्टतिर प्रहार गरे।

निकै उत्कृष्ट उक्त प्राविधिक प्रहारले खेलको छिनोफानो नै गरिदियो।

यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

अर्जेन्टिनाका गोन्जालो हिगुइनले मध्यान्तर अगाडि पाएको सुन्दर मौका पोष्ट बाहिर प्रहार गरेर खेर फाले।

जर्मनीका रक्षक बेनेडिक होवेड्सले हानेको प्रहार पनि पोष्टमा ठोक्किएर फर्केको थियो।

तस्वीर कपीराइट AP
Image caption प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएपनी अर्जेन्टीनी खेलाडी लियोनेल मेसीको अनुहारमा हारको पीडा देखिएको थियो

त्यस्तै एउटा मौका अर्जेन्टिनी कप्तान लियोनेल मेसीले खेर फालेका थिए।

दुखी

संगठित जर्मनी विरुद्ध जादुगरी मेसीको युद्ध भनिएको फाइनलमा अर्जेन्टिनाले प्रतियोगिताकै सशक्त खेल देखाएको थियो।

तर २४ वर्षपछि उपाधि जित्ने उनीहरुको सपना भने पुरा हुन सकेन।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएपनि कप्तान लियोनेल मेसीको अनुहारमा हारको पीडा स्पष्ट देखिएको थियो।

अर्जेन्टिनाले खेल अवधिभर पोष्ट लक्षित हुने एउटा आक्रमण गर्न सकेन।

तस्वीर कपीराइट Getty
Image caption वैकल्पिक खेलाडी मारियो गोत्सेले थप समयमा गोल गर्दै जर्मनीलाई उपाधि दिलाए

आशा गरिएका कप्तान मेसीले केही अवसरहरु सिर्जना गरेपनि उनको बायाँ खुट्टाको जादुगरी प्रहार पनि सामान्य नै थियो।

सन् १९९० को विश्वकप फाइनलमा पनि पश्चिम जर्मनी विरुद्ध खेल्दा अर्जेन्टिनाले एउटा पनि पोष्ट आक्रमण गर्न सकेको थिएन।

इङल्याण्डका पूर्व रक्षक रियो फर्डिनान्डले मेसीले इतिहासको ठूलो मौका गुमाएको बताए।

उनले भने, “मेसीले केही विशेष गर्छ भन्ने विश्वास सवैलाई थियो तर उनले त्यो मौका गुमाए।”

कीर्तिमान

जर्मनीका गोलकर्ता गोयत्से वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर विश्वकप जिताउने पहिलो खेलाडी बनेका छन्।

जर्मनीले चालू विश्वकपमा कुल १८ गोल गरेको छ जून एउटा टोलीले गरेको सर्वाधिक गोलसंख्या पनि हो।

तस्वीर कपीराइट Reuters
Image caption बलिर्नमा एकै स्थानमा भेला भएर झन्डै अढाइ लाख जर्मन समर्थकले फाइनल खेल हेरेका थिए

ब्राजीलले सन् २००२ को विश्वकप विजेता बन्दा पनि १८ गोल नै गरेको थियो।

यस्तै अर्जेन्टिना थप समयमा विश्वकपको फाइनलमा गोल खाने पहिलो टोली पनि बनेको छ।

प्रतियोगितामा ६ गोल गर्ने कोलम्वियाका जेम्स रोड्रिगुइजले उच्च गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट पाए।

उत्कृष्ट

चार गोल गरेका लियोनेल मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल पाउने खेलाडी बने।

टोलीलाई फाइनल सम्म पुर्याउन सवै खेलमा भूमिका खेलेका उनले ४ गोल गरेका थिए।

तस्वीर कपीराइट Reuters
Image caption जर्मनीका गोलरक्षकले गोल्डेन ग्लोब अवार्ड पाए

उत्कृष्ट भएपनि २७ वर्षिय मेसीले भने, “वास्तवमा यतिखेर मलाई मैले पाएको उपाधिमा रुची छैन किनभने हामी विश्वकप जितेर अर्जेन्टिनी जनतालाई उपहार ‍दिन चाहन्थ्यौं।”

त्यस्तै उत्कृष्ट गोलकिपरलाई प्रदान गरिने गोल्डन ग्लोब जर्मनीका गोलकिपर म्यानुयल नेयुरले प्राप्त गरे भने उत्कृष्ट युवा खेलाडीको उपाधि फ्रान्सका पाउल पोग्बाले पाए।

प्रतियोगितामा कम फाउल खेलेको भन्दै कोलम्वियाले फेयर प्ले ट्रफी प्राप्त गरेको छ।

जर्मनीले विश्वकप उपाधि उचालेसंगै एक महिना लामो समयसम्म ब्राजीलमा चलेको फुटबलको महामेलाले विश्राम लिएको छ।

अर्को विश्वकप चार वर्षपछि रुसमा हुनेछ।