'इजरेलमा हालसम्म सबै नेपाली सुरक्षित'

  • 14 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption हजारौं प्यालेष्टिनीहरु उत्तरी गाजाबाट घरवार छाडेर भाग्न थालेका छन्

इजरेल र प्यालेष्टिनी उग्रबादी समुह हमासबीच आक्रमण-प्रत्याक्रमण चर्कँदै गर्दा इजरेलमा रहेका सबै नेपालीहरु हाल सम्म सकुशल रहेको त्यहाँस्थित नेपाली दुताबासले जनाएको छ।

करिब ६ हजार नेपाली त्यहाँ कार्यरत रहेको अधिकारीहरुको भनाई छ।

दुबै पक्ष रकेट र हवाई आक्रमणमा उत्रिएपछि त्यहाँ कार्यरत नेपालीहरु भने आत्तिन थालेका छन्।

डर

गाजाबाट इजरेलमा लगातार रकेट आक्रमण हुन थाले पछिको स्थितिबारे बर्दिया घर भै हाल इजरेलको नातानियामा कार्यरत जानु जिसीले भनिन, "डर छ यहाँ, बम आक्रमण भइ रह्यो भने त बस्ने स्थिति नै हुँदैन त्यसैले हामी कसरी सुरक्षित हुने भन्ने सोंचिरहेका छौं।"

इजरेलस्थित नेपाली दुताबासले सुचना मार्फत उनीहरुलाई सचेत र सजग बनाउने काम गरी रहेको जनाएको छ।

नेपालीहरुको स्थितीको जानकारी लिन लगातार उनीहरुसंग सम्पर्कमा रहेको र स्थिति बिग्रदै गए उद्दारको तयारीमा रहेको दुताबासका काउन्सिलर खडगप्रसाद दाहालले बताए।

उनले भने, "सरकारलाई दैनिक जसो रिपोर्ट दिइरहेका छौं, आपतकालीन परिस्थिति आइपरेमा अन्तर्राष्ट्रिय मित्रहरुको सहयोगमा वा आफैले पनि केही गर्न सजग छौं।"

तस्वीर कपीराइट Reuters

त्यहाँ अधिकाशं नेपाली कामदार महिला छन।

उनीहरु घरेलु कामदारका रुपमा काम गर्दछन भने केही पुरुषहरु कृषि क्षेत्रमा काम गर्छन्।

'भागाभाग'

इजरेलले आफू माथि भइरहेका रकेट हमला रोक्न कार्वाही अघि बढाउने चेतावनी दिएपछि हजारौ प्यालेष्टिनीहरु उत्तरी गाजाबाट घरवार छाडेर भाग्न थालेका छन्।

करिव १७ हजार प्यालेस्टिनीहरुले संयुक्त राष्ट्र संघसमक्ष शरण मागेका छन्।

गाजास्थित स्वास्थ अधिकारीहरुका अनुसार अहिलेसम्म इजरेलले गरेको कार्वाहीमा कम्तिमा १ सय ७२ जना प्यालेष्टिनीहरुले ज्यान गुमाएका छन्।

शनिबार साँझ इजरेलले गरेको मिसाइल आक्रमणमा एकै परिवारका १७ जना मारिएको बताइएको छ।

इजरेलले आफूले हमास सम्बद्ध लडाकूहरुको आखडा र उक्त समूहका वरिष्ठ नेताहरुको वासस्थानलाई निशाना बनाएको बताए पनि संयुक्त राष्ट्रसंघले गाजामा मारिने मध्ये ७७ प्रतिशत सामान्य नागरिक रहेको बताएको छ।