गाजामा पुन: इजरेली हमला शुरु

गाजामा संघर्षविराम लागू गर्ने प्रयास असफल हुंदै गएको संकेत स्वरुप इजरेली सेनाले गाजामा प्यालेष्टीनी उग्रवादी समूह हमासलाई निशाना बनाएर गरिएको आक्रमण पुन: शुरु गरेको बताएको छ।
इजीप्टका मध्यस्थकर्ताहरुले प्रस्ताव गरेका संघर्ष विरामको प्रस्तावप्रति इजरेलले सहमति जनाएको थियो तर प्यालेष्टीन रकेट हमला जारी रहे आफ्नो सेनाले बलपूर्वक प्रतिक्रिया जनाउने प्रधानमन्त्री बेन्जमीन नेतन्याहुले बताएका थिए।
उता गाजास्थित उग्रवादी समूह हमासको सशस्त्र खेमाले त्यस्तो प्रयासलाई आत्मसमर्पण भन्दै अस्वीकार गरेको थियो।
नयां निशाना
टेलिभिजन दृश्यहरुमा हवाच हमला पछि गाजाबाट धुवाँको मुश्लो उडीरहेको देख्न सकिन्थ्यो।
गाजाका केही नयां निशानाहरु पनि इजरेली हवाइ हमलाको मारमा परेका छन्।
मंगलबार मात्रै गाजाबाट आफ्नो भूभागमा पचासवटा भन्दा बढी रकेट हमला गरिएको इजरेलले बताएको छ।
ती हमलाहरुमा एशडड नगरमा एउटा घर क्षतिग्रस्त भएको तर कसैलाई चोट पटक भने नलागेको बताइएको छ।
इजीप्टको प्रयासमा अघि बढाइएका शान्ति प्रस्ताव अनुसार पहिले संघर्ष विराम र त्यसपछि द्वन्द्वको दुबै पक्षका उच्चस्तरीय प्रतिनिधिहरुबीच कायरोमा विभिन्न चरणमा वार्ताहरु हुनु पर्ने थियो।
प्रतिक्रिया
संघर्ष विराम योजनाबारे हमासले औपचारिक प्रतिक्रिया जनाएको थिएन।
हमासका एकजना वरिष्ठ प्रवक्ता ओसामा हमदानले बीबीसीसंग कुरा गर्दै भने, "हाम्रो संगठनले संघर्ष विरामको योजनाकाबारे संचार माध्यमहरु मार्फत मात्र थाहा पाएको थियो र सहमतिका विवरणहरुको जानकारी विना संघर्ष विराम हुनसक्ने अवस्था थिएन।"
हमासको सशस्त्र खेमाले त्यस्तो प्रयासलाई अस्वीकार गर्दै, उसकै शब्दमा, इजरेल विरुद्धको लडाईं अब पूर्ण आक्रोश र सघनताका साथ अघि बढ्ने बताएको छ।
बीबीसीसंग कुरा गर्दै इजरेली सरकारका प्रवक्ता मार्क रेगेभले भने, "स्थिति अनुकूल तुल्याउन हमासले सात घण्टाको समय पाएको तर उनीहरुले संघर्ष विरामको प्रस्तावलाई शब्द र व्यवहारमा अस्वीकार गरिदिएका छन्।"
अनुमोदन
स्थिति अनुकूल तुल्याउन हमासले सात घण्टाको समय पाएको तर उनीहरुले संघर्ष विरामको प्रस्तावलाई शब्द र व्यवहारमा अस्वीकार गरिदिएका छन्।
इजीप्टले प्रस्तुत गरेको संघर्ष विरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णयलाई प्रधानमन्त्री बेन्जमीन नेतन्याहुले डाकेको इजरेली सुरक्षा क्याबीनेटको बैठकले मंगलबार बिहान अनुमोदन गरेको थियो।
बीबीसी सम्बाददाता केभिन कोनोली भन्छन् इजरेलले इजीप्टको प्रस्तावलाई द्रुत गतिमा स्वीकार गर्नु एउटा रणनीतिक कदम थियो।
यदि त्यस्तो प्रस्ताव अनुसारको संघर्ष विराम कायम रहन सकेको भए त्यसको परिणामबाट इजरेल खुशी नै हुने थियो किनकि उसले हमासले थुपारेको अस्त्र भण्डारमा क्षति पु-याइसकेको थियो।
प्यालेष्टिनी अधिकारीहरु भन्छन्, इजरेलले गरेको बम हमलामा हालसम्म झण्डै दुईसय जना प्यालेष्टीनीहरुको ज्यान गैसकेको छ र ती मध्ये धेरै गैरसैनिकहरु रहेका छन्।
हिंसा आरम्भ भएयता कम्तीमा चार जना इजरेलीहरु गम्भीर रुपमा घाइते भएका छन् भने कोही पनि मारिएका छैनन्।