इजरेलद्वारा संघर्ष-विराम प्रस्ताव स्वीकार

  • 15 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption चर्किदो द्वन्द्वका कारण हजारौं मानिसहरु उत्तरी गाजा छाडेर भागिरहेका छन्

इजरेलले गाजामा संघर्ष विरामका निम्ति इजिप्टले राखेको प्रस्ताव स्वीकार गरेको छ।

इजिप्टले राखेको प्रस्तावमाथि छलफल गर्न मंगलवार विहान भएको मन्त्रिपरिषदको सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज विहान ९ बजेबाट शुरु हुने गरी इजिप्टले गरेको संघर्ष विरामको प्रस्ताव मन्त्रिपरिषदको सुरक्षा समितिले स्वीकार गरेको छ।”

अस्वीकार

इजिप्टको प्रस्तावमा शुरुमा दुवै पक्षले युद्धविराम गर्ने र ४८ घण्टाभित्र दुबै पक्षका प्रतिनिधिमण्डल सहित कायरोमा वार्ता गर्ने योजना छ।

एकजना वरिष्ठ इजरेली अधिकारीले भने, “यदि हमासले इजरेलमा आक्रमण गरिरह्यो भने, हामीले पनि आक्रमण तीव्र पार्ने छौ।”

तर गाजामा नियन्त्रण कायम राखेको हमासका एकजना अधिकारीले पूर्ण सम्झौता अघि संघर्ष विरामको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।

हमास नेता इस्माइल हानियाले अल जजिरा टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा हमासले लडाईँको अन्त्यमात्र नभइ इजरेलले गाजामा लगाएको नाकाबन्दी पनि हटेको हेर्ने चाहेको उल्लेख गरे।

चौतर्फी प्रयास

तस्वीर कपीराइट Getty

आफू, अमेरिका र अन्य देशहरुले आतंककारी घोषणा गरेको हमास सन् २००७ मा शक्तिमा आएदेखि इजरेलले गाजामा नाकबन्दी लगाएको छ।

संघर्ष विरामको प्रस्ताव कायरोमा हुने अरव लिगका विदेश मन्त्रीहरुको आपतकालीन बैठक अघि आएको छ।

कायरोस्थित बीबीसी सम्वाददाता ओर्ला गेरिन भन्छिन, “इजिप्टले पछिल्लो विवादबाट परै बसेको भन्ने आरोपका माझ इजरेल र हमासबिचको मध्यस्तकर्ताको आफ्नो परम्परागत भूमिका फेरी निर्वाह गर्ने प्रयास गरिरहेको छ।”

अमेरिकी विदेशमन्त्री जन केरी युद्धविरामको लागी पहल गराउन मंगलबार कायरो पुग्ने संचार माध्यमहरुले बताएका छन्।

यसअघि पनि राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले समेत दुबै पक्षलाई संघर्ष विरामको निम्ति दवाव दिएक थिए।

भागाभाग

प्यालेष्टिनी अधिकारीहरुले आठ दिनदेखि इजरेलले गरिरहेको हवाई हमलामा कम्तिमा १९२ जना मारिएको र १४ सय घाइते भएको बताएका छन्।

इजरेलले हमास लडाकुले गरिरहेको रकेट आक्रमण रोक्न आफूले आक्रमण गरिरहेको बताउने गरेको छ।

इजरेलले गाजाबाट आफू विरुद्ध एक हजार जति रकेट हमला भएको जनाएको छ।

तर उक्त आक्रमणबाट कोही मारिएको खबर छैन।

चर्किदो द्वन्द्वका कारण हजारौं मानिसहरु उत्तरी गाजा छाडेर भागिरहेका छन्।