‘एमाले केन्द्रीय कमिटिमा ओली पक्ष बलियो’

  • 16 जुलाई 2014
Image caption नवौं महाधिवेशनबाट प्राप्त नतिजाले केपी ओली पक्षका नेता तथा कार्यकर्ता हौसिएका छन्

नेकपा एमालेको पदाधिकारीहरुमा समान सात/सात जना चुनिएपनि केन्द्रीय कमिटिमा भने माधव नेपाल पक्षभन्दा केपी ओली पक्ष बलियो देखिएको छ।

एमालेको निर्वाचन आयोगका एकजना सदस्यका अनुसार केन्द्रिय कमिटिमा ओली पक्षले बहुमत ल्याउने स्पष्ट देखिएको छ।

दुवै समूहका प्रतिनिधिहरुको उपस्थितिमा मतगणना रुजु गर्ने सहमति भएकाले औपचारिक परिणाम घोषणामा ढिलाइ भएको ती सदस्यले बताए।

एमालेको नयाँ विधानअनुसार खुला, जनजाति, मधेशी, महिला र आयोग लगायतका विभिन्न समूहतर्फ गरी पदाधिकारीबाहेक कूल १३४ जना केन्द्रिय सदस्यहरु चुनिनुपर्ने व्यवस्था छ।

बहुमत

ती सदस्यहरुका लागि भएको मतदानको मतगणनाअनुसार अध्यक्ष पदमा पराजय बेहोरेका नेता माधव नेपालको समूह फेरि पनि पछि परेको एमालेको निर्वाचन आयोगका सदस्य सानुराज पोख्रेलले बताए।

उनले भने, ''माधव नेपालको बहुमत रहन्छ भन्ने जुन दावी थियो त्यो स्थिति देखिएन। मतगणनाको परिणाम हेर्दा केपी ओली पक्षको बहुमत आउने देखिएको छ।''

यसअघि मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार अध्यक्षसहित सात पदाधिकारीमा ओली समूह विजयी भएको थियो भने सोही संख्यामा नेता नेपाल पक्षधर विजयी भएका थिए।

पोख्रेलका अनुसार केन्द्रिय सदस्यहरुमा जनजाति, महिला, मधेशी र आयोग बाहेकका सदस्यहरुमा ओली समूहका ३६ जना विजयी भएका छन्।

मतगणना

नेता नेपाल समूहका भने ३३ जना निर्वाचित भएको उनले बताए।

बुधबार बिहानैदेखि केन्द्रिय सदस्यहरुका लागि मतगणना जारी रहेपनि दुई समूहका प्रतिनिधिहरुको उपस्थितिमा प्रमाणीकरण गर्नुपर्ने लगायतका सहमतिका कारण प्रक्रिया लम्बिएको थियो।

पोख्रेलले भने, ''त्यो प्रमाणीकरण गरेर मुख्य कम्प्युटरमा तथ्यांक राखिसकेपछि नेपाल पक्ष र ओली पक्षका एक-एक जनाले फेरि सच्याउने र तथ्यांक राख्ने खालको समझदारी भएको छ।''

केन्द्रिय सदस्यहरुमा पनि ओली पक्षको बहुमत देखिएपछि नीति नेपाल समूहको भएपनि नेतृत्वको बागडोर ओली समूहको हातमा गएको कतिपयले टिप्पणी गरेका छन्।