‘ढुंगा, बालुवा उत्खनन, निकासीमा बन्देज’

  • 17 जुलाई 2014
चुरे दोहन
Image caption चुरे तथा तराई मधेस क्षेत्रमा केही अघिसम्म करीब ७०० क्रसर उद्योग सञ्चालनमा रहेका थिए

ढुंगा बालुवा जस्ता प्राकृतिक श्रोतको उत्खनन गर्न साउन १ गतेबाट लगाइएको बन्देजले चुरे बाहेकका जिल्लाहरुमा चाहिं दुई महिनापछि फुकुवा हुने बताइएको छ।

तर सरकारी निर्णयबाट क्रुध्द बनेका खानी व्यवसायीहरुले यो निर्णयका कारण निर्माण क्षेत्र ठप्प हुनसक्ने चेतावनी दिएका छन्।

चुरे तराई मधेस क्षेत्रमा ढुंगा बालुवा जस्ता प्राकृतिक श्रोतको दोहन अत्यधिक बढेर त्यस क्षेत्रको वातावरणमा गम्भीर नकारात्मक असर परिरहेको भन्ने चिन्ताकामाझ सरकारले ती पदार्थको उत्खनन नै बन्द गर्ने निर्णय हालै मात्र गरेको थियो।

'जोखिम'

अब त्यो कार्यान्वयनको लागि चुरे तराई मधेस क्षेत्रका सबै जिल्लाका अधिकारीहरु सक्रिय हुने संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले बताए।

“चुरेमा अत्यन्त महत्वपूर्ण प्राकृतिक स्रोतमाथि जुन ज्यादती र दोहन भइरहेको थियो त्यो अब रोकिन्छ," थपलियाले भने।

उनका अनुसार चुरे क्षेत्रका ३६ जिल्लाका अतिरिक्त वर्षायाममा हुने प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गरेर दुई महिनाका लागि देशैभर उत्खनन बन्द गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ।

तर क्रसर तथा खानी व्यवसायीहरुले भने सरकारको निर्णयका कारण करीब २० अर्ब रुपैंया लगानी भएको र हजारौं मजदुरले रोजगारी पाइरहेको आफ्नो व्यवसाय संकटमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

'ठप्प'

क्रसर तथा खानी व्यवसायी संघका उमेश शेरचनले भने, “सबै क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्, पछिल्लो सरकारी निर्णयका कारण अब निर्माण क्षेत्र ठप्प हुँदैछ।”

नेपाल भित्र र छिमेकी भारतको निर्माण सामाग्रीको बढ्दो मागलाई धान्न मुख्य गरी चुरे तथा तराई मधेस क्षेत्रमा केही अघि सम्म करीब ७०० क्रसर उद्योग सञ्चालनमा रहेका थिए।

तर कडा मापदण्ड ल्याइएपछि ती मध्ये केहीको मात्र नवीकरण हुन सकेको बुझिएको छ।

तर निर्माण क्षेत्रको बढ्दो मागका कारण सरकारले रोक लगाउँदैमा ढुंगा बालुवाको उत्खनन र चोरी निकासीमा रोका लाग्न नसक्ने धेरैको चिन्ता छ।