गाजामा अस्थायी युद्धविराम

  • 17 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption डेढ हप्ता यता भएका कार्वाहीमा गाजामा करिव २२० जनाको ज्यान गैसकेको छ

इजरेली सेनाले गाजाका सर्वसाधारणलाई लक्षित गर्दै बिहिवार पाँच घण्टे युद्धविराम गर्दैछ।

उसले आफूले गरेको बमबारीमा गाजा स्थित समुन्द्री तटमा खेलीरहेका चारजना बालबालीकाको ज्यान गएकोमा दुख व्यक्त गरेको छ।

एकै परिवारका सदस्य रहेका उनीहरु बुधवार विदेशी पत्रकारहरु बसिरहेको होटल बाहिरको तटमा मारिएका थिए।

हमासले सो आक्रमणको भत्सर्ना गरेको छ।

क्षती

प्यालिस्टिनी अधिकारीहरुका अनुसार ९ दिन यता भएका इजरेली आक्रमणमा गाजामा २ सय २० जनाको ज्यान गएको छ र झन्डै १८ सय घाइते भएका छन्।

हमासले करीव १२ सय रकेट इजरेल तर्फ प्रहार गरेको छ जसमा एक जना इजरेलीको ज्यान गएको छ।

बुधवार भएको इजरेली हमालामा गाजा शहर नजिकै समुन्द्री तटमा खेलिरहेका चार जना बालबालीका मारिएका थिए।

हमासले उक्त आक्रमणलाई युद्ध अपराध भन्दै त्यसको भत्सर्ना गर्न राष्ट्रसंघसँग माग गरेको छ।

इजरेली सेनाले आफूले उक्त घटनाको गम्भिरतापूर्वक अनुसन्धान गरिरहेको भन्दै प्रारम्भीक नतिजा अनुसार उक्त निशाना हमास बिद्रोही रहेको स्थानमा लक्षित रहेको बताएको छ।

युद्धविराम

यसै बिच इजरेलले संयुक्त राष्ट्रसंघको आव्हान अनुसार सर्वसाधारणहरुलाई दैनिक उपभोग्य सामाग्री जुटाउने मौका दिन गाजामा बिहिबार अस्थायी युद्धविराम गर्दैछ।

स्थानिय समय अनुसार बिहान १० बजेबाट पाँच घण्टा चल्ने उक्त युद्धविराम आफूले पनि पालना गर्ने हमासले बताएको छ।

बीबीसी अरेबीकलाई दिएको अन्तर्वार्तामा एक जना बरिष्ठ इजरेली सैनिक अधिकारीले याओएव मोरडोचाइ संयुक्त राष्ट्रसंघ र अन्य अन्तराष्ट्रीय संघ संस्थाहरुले युद्धविरामको लागी आग्रह गरेको बताए।

उनले भने, “हामी हमास र गाजामा रहेका अन्य आंतकवादी संगठनहरुले युद्धविरामको उक्त आव्हानलाई सम्मान गरुन र रकेट हमलाहरु नगरुन भन्ने चाहान्छौँ किनभने यदि उनीहरुले रकेट आक्रमण गरे भने हामी चुप लागेर बस्न सक्दैनौँ।”

तर इजरेली डिफेन्स फोर्सले आफ्नो वक्त्व्यमा मानविय सहयताको लागी उपलब्ध गराइएको समय इजरेली नागरीक वा सैन्य निशानाहरुमा लक्षित गर्दै आक्रमण गर्न प्रयोग गरिए शशक्त र निर्णायक कार्वाही अघि बढाउने चेतावनी दिएको छ।

गाजाको प्रमुख शक्ति हमासले इजिप्टले प्रस्तुत गरेको युद्धविराम प्रस्ताव अस्विकार गरेको पूष्टी भएपछि पछिल्लो घोषणा आएको हो।

यसअघि मंगलबार पनि इजरेलले युद्धविरामको घोषणा गरको थियो तर गाजाबाट निरन्तर रकेट आक्रमण भएपछि उसले सैन्य कार्वाही फेरी सुरु गरेको थियो।