विमान दुर्घटनापछि शोक

  • 18 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption मलेसियन एअरलाईन्सको एक बर्षमा भएको यो दोस्रो दुर्घटना हो

मलेसियाका प्रधानमन्त्री नजिब रजाकले युक्रेनमा मलेसियन एअरलाईन्समा भएको विमान दुर्घटनालाई एकदमै दुखदायी घटना भन्दै त्यसको वास्तविक कारण पता लगाउनुपर्ने बताएका छन्।

रुस समर्थक पृथकतावादीहरुले क्षेप्यास्त्र हानेर २ सय ९५ यात्रु सवार उक्त विमान खसालेको युक्रेनी आरोप रुसले खण्डन गरिरहँदा मलेसियाका प्रधानमन्त्री कुनै पनि हालतमा अनुसन्धान रोकिनु नहुने जिकिर गरे।

पृथकतावादीले रुसी अधिकारीहरुसँगको टेलिफोन वार्तामा विमान खसालेको स्वीकार गरेको रिकर्ड युक्रेनी अधिकारीहरुले सार्वजनिक गरेका छन्।

तर मस्कोले आफ्नो हवाइ क्षेत्रमा भएको दुर्घटनाको जिम्मेवारी युक्रेनले लिनुपर्ने भन्दै आरोपको प्रतिवाद गरेको छ।

न्याय

उक्त विमानमा सवार सबै २ सय ९५ यात्रुको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

तस्वीर कपीराइट AP
Image caption एमएच सेभेन्टिइन कल साइन भएको उक्त बोइङ ७७७ एम्सटरड्यामबाट क्वालालम्पुरतर्फ गैरहेको थियो

एक बर्षभित्र मलेसियन एअरलाइन्सले भोगेको यो दोस्रो दुर्घटना हो।

यसअघि मलेसियाबाट चीन जाने क्रममा गएको मार्चमा वेपता भएको एमएच ३७० विमान अझै हराइरहेको छ।

मलेसियाका प्रधानमन्त्री नजिब रजाकले भने, “यो बर्ष नै दुखद रहेको मलेसियाको लागि यो अर्को पिडादायी दिन हो, हामीले के भयो भनेर बुझ्ने प्रयास गरिरहँदा हाम्रो प्रार्थना दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र साथी भाईप्रति छ।”

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले सुरक्षित घोषणा गरेको रुटबाट उक्त विमान उडेको र उसले कुनै पनि जोखिमको सङ्केत नदिएको उनको भनाई थियो।

प्रधानमन्त्री रजाकले भने, “यदि विमानलाई साँच्चिनै खसालिएको हो भने, हामी दोषीलाई कार्वाही होस भन्ने चाहन्छौ।”

अस्पष्ट

युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले उक्त दुर्घटनालाई आतंकवादी गतिविधि भनेका छन्।

पृथकतावादी नेता एलेक्सान्डर बोरादिले युक्रेनी सरकारले विमान खसालेको आरोप लगाएका छन्।

उक्त दुर्घटनाबारे छलफल गर्न ब्रिटेनको पहलमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ।

रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले मलेसियन एअरलाइन्सको विमान खसालिनुमा युक्रेन जिम्मेवार रहेको बताएका छन्।

उनले भने, “उक्त भूमिमा शान्ति भएको भए वा कम्तीमा दक्षिण पूर्वी युक्रेनमा द्वन्द्व पुन: सुरु नभएको भए यो दुखद घटना हुने थिएन्, निश्चित रुपमा जुन देशको भूभागमा यो गतिविधि भयो उसले नै यो भयावह त्रासदिको जिम्मेवारी लिनुपर्छ।”

Image caption अत्याधुनिक क्षेप्यास्त्रबाट विमान खसालिएको अमेरिकी ठम्याइ छ

वासिङगटनमा अमेरिकी उपराष्ट्रपति जो वाइडनले उक्त विमानलाई आकाशमा नै विस्फोटन गराइएको भन्दै उक्त क्षति दुर्घटना नभएको बताए।

क्षेप्यास्त्र

एकजना अमेरिकी गुप्तचर अधिकारीले ३० हजार फिटको उचाइमा उडिरहेको उक्त विमानलाई काँधमा बोकेर मार हान्ने हतियारबाट नभइ भुईंबाट आकाशमा मार हान्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रबाट खसाइएको हुनसक्ने बताए।

युक्रेनले रुसले पृथकतावादीहरुलाई आधुनिक क्षेप्यास्त्र उपलब्ध गराएको आरोप लगाउदैँ आएको छ।

बिहिबार युक्रेनी अधिकारीहरुले रुसले आफ्नो विमानस्थलमा रोकेर राखिएको एउटा जेटमाथी आक्रमण गरेको आरोप लगाएको थियो।

मृत्यु हुनेमा १ सय ५४ डच नागरिक, २७ अष्ट्रेलियाली, १५ चालकदलका सदस्य सहित ४३ मलेसियाली, १२ इन्डोनेसियाली र नौजना ब्रिटिस नागरिक छन्।

अरु यात्रुहरु जर्मनी, बेल्जियम, फिलिपिन्स र क्यानाडाका छन् र अरु ४१ जनाको नागरिकता खुल्न सकेको छैन्।