दुर्घटना अनुसन्धानका लागि युद्धविरामको माग

  • 18 जुलाई 2014
विमान दुर्घटना तस्वीर कपीराइट Reuters
Image caption दुर्घटनाको अनुसन्धानका लागि पूर्वी युक्रेनमा युद्धविरामको लागि माग भैरहेको छ

मलेसिया एअरलाइन्सको एउटा यात्रु वाहक विमान दुर्घटनाको अनुसन्धानमा सघाउ पुर्याउन पूर्वी युक्रेनमा तत्काल युद्धविराम गर्नुपर्ने मागको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरिरहेको छ।

रेकर्डर

एम्स्टरड्यामबाट कुआलालम्पुर तर्फको उडानमा रहेको उक्त विमान रुसी सिमा नजीकै पूर्वी युक्रेनमा खस्दा त्यसमा सवार झण्डै तीनसय जनाको ज्यान गएको छ। ति मध्ये आधाभन्दा बढी नेदरल्याण्ड्सका बासिन्दा थिए।

उक्त विमान खसेको स्थानमा उद्धार कार्यकर्ताहरुले विमानको एउटा फ्लाइट रेकर्डर फेला परेको बताएका छन्।

विमानको भग्नावशेष रुस समर्थक विद्रोहीहरुको नियन्त्रणमा रहेको एउटा खेतमा छरिएर रहेको छ।

युक्रेनको गुप्तचर निकायका प्रमुखले, गोप्य रुपमा सुनिएका टेलिफोन वार्ताहरु अनुसार उक्त आक्रमण विद्रोहीहरुले गरेका जस्तो देखिएको बताएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption विमान दुर्घटनाका लागि रुस र युक्रनेबीच आरोप प्रत्यारोप भैरहेको छ

तिनीहरुले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै मलेसियाका यातायात मन्त्रीले उक्त दुर्घटनाको अनुसन्धानको नेतृत्व युक्रेनले गर्ने बताउंदै दुर्घटनास्थललाई सुरक्षित राख्‍न आग्रह गरेका छन्।

प्रतिक्रिया

युक्रेनका प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले मलेशिया एअरलाइन्सको विमानलाई आक्रमण गरेर खसाल्नु अन्तर्राष्ट्रिय अपराध भएको भन्दै त्यसको अनुसन्धान हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायालयले गर्नु पर्ने बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त दु:खान्त घटनाको जिम्मेवारी युक्रेनको हुने बताएका छन्।

रुसका एकजना प्रवक्ताले पूर्वी युक्रेनमा कियभले सैनिक गतिविधि नचर्काएको भए त्यस्तो घटना हुने थिएन भनेका छन्।

तस्वीर कपीराइट Reuters
Image caption कियभस्थित नेदरल्याण्ड्स दूतावासमा विमान दुर्घटनामा परेकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ

अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले रुसी प्रतिक्रियालाई “गहिरो रुपमा असन्तोषकारी” भनेका छन्।

उनले विमान खसालिएको घटनालाई दुर्घटना भन्दा पनि अपराध जस्तो भएको बताएका छन्।

उक्त विमानमा रहेका एकसयजना भन्दा बढी यात्रुहरु अष्ट्रेलियाको मेलबोर्न शहरमा आयोजीत एड्स सम्मेलनमा भाग लिन जान लागेका एड्स अनुसन्धानकर्ता, स्वास्थ्य कार्यकर्ता र अभियानकर्ताहरु रहेका ठानिएको छ।