गाजामा थप ६० जनाको मृत्यु

  • 20 जुलाई 2014
हवाइ हमला तस्वीर कपीराइट AP
Image caption गाजामा इजरायलले हवाइ तथा स्थलगत सैन्य कारवाही जारी राखेको छ

तेह्र दिन अघि गाजामा इजरायली कारवाही शुरु भएयताको सबैभन्दा भीषण हवाइ हमलामा शनिबार राती गाजाको एउटा जिल्लामा कम्तीमा साठी जना प्यालेस्टिनीहरुको ज्यान गएको छ।

गाजा सिटी भन्दा पूर्वमा रहेको शेजैया इलाकामा ती मानिसहरु मारिएका थिए।

गाजाका स्वास्थ्य अधिकारीहरुले दुई सातायता मारिने प्यालेस्टिनीहरुको संख्या चारसय नाघेको जनाएका छन्।

दुईजना गैरसैनिकहरु सहित सातजना इजरायलीहरु पनि मारिएका छन्।

गोलाबारी

गाजाका वासिन्दाहरुले दुई साता अघि इजरायली हमला शुरु भएयता शनिबार राती अहिलेसम्मकै सबैभन्दा सघन गोलाबारी भएको जनाएका छन्।

एक वक्तव्यमा इजरायली सेनाले, उसकै शब्दमा, गाजामा आतंकवादसंग जु्ध्न थप सैनिकहरु पठाइएको जनाएको छ।

गाजाका चिकित्सा अधिकारीहरुले गाजा सिटीभन्दा पूर्वमा रहेको एक जिल्लामा कम्तीमा पचास जनाको ज्यान गएको बताए।

प्रत्यक्षदर्शीहरुले सडकमै शवहरु यताउता छरिएको पनि बताए।

शेजैया जिल्लामा एम्बुलेन्सहरु जान दिन दुईघन्टा मानवीय युद्धविराम गर्न इजरायल तथा हमास सहमत भएपनि एक घन्टा पछि नै गोली प्रहार शुरु भएको थियो।

गाजा सिटीमा रहेकी बीबीसीकी संवाददाता योलन्ड नेल भन्छिन्, हजारौं मानिसहरु त्यो क्षेत्र छाडेर पैदलै वा मोटरमा खाँदाखाँद गरेर अन्यत्र गैरहेका छन्।

हमला

उता उग्रवादीहरुले इजरायलमाथि रकेट हमला जारी राखेका छन्।

इजरायलतर्फ अहिलेसम्म पाँचजना सैनिक तथा दुईजना गैरसैनिकहरु मारिएका छन्।

इजरायली सैन्य कारवाहीमा गएको तेह्र दिनमा ३९५ जना प्यालेस्टिनीहरु मारिएको गाजाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

संयुक्त राष्ट्र संघले मारिनेहरुमध्ये धेरैजसो सर्वसाधारण भएको बताएको छ।

इजरायल तथा प्यालेस्टिनी उग्रवादी संगठन हमासबीच युद्धविराम गराउने प्रयास अझै सफल हुनसकेको छैन।

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुन प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई भेटन आइतबार अबेर कतार पुग्ने कार्यक्रम छ।

हिंसा अन्त्य गरी अगाडिको बाटो पहिल्याउन त्यस क्षेत्रका नेताहरुसंग वार्ता गर्न उनले मध्यपूर्वका अन्य मुलुकहरुको पनि भ्रमण गर्ने बताइएको छ।

युद्धविराम

इजिप्टले यसअघि युद्धविरामकालागि राखेको प्रस्ताव हमासले अस्वीकार गरीदिएको थियो।

गत महिना तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्याको बदला लिन यहुदी उग्रवादीहरुले एकजना प्यालेस्टिनी किशोरको हत्या गरेका थिए।

त्यस लगत्तै हमासले इजरायली भूभागमा रकेट प्रहार शुरु गरेपछि इजरायलले पनि गाजामा हवाइ तथा स्थल कारवाही शुरु गरेको थियो।

विश्लेषकहरु भन्छन्, युद्धविरामकालागि अन्तर्राष्ट्रिय दबाब बढिरहेकेा भएतापनि दुबै पक्ष अझै युद्धविरामकालागि तयार देखिंदैनन्।

लडाईंको चपेटामा सर्वसाधारणहरु परिरहँदा मानवीय क्षति अरु बढ्ने चिन्ता व्यक्त गरिएको छ।