'पचास सशस्त्र समूहसँग वार्ता गरिने'

  • 21 जुलाई 2014
तस्वीर कपीराइट Surendra Phuyal
Image caption संविधानसभाकै अध्ययनको निष्कर्ष अनुसार झन्डै ५० वटा सशस्त्र समूहहरुसँग वार्ता गरिने बताइएको छ

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले साउनको दोस्रो सातादेखि सशस्त्र समूहहरुसँग वार्ता थाल्ने भएको छ।

ईलाम, जनकपुर र नेपालगंजमा गरिने त्यस्ता वार्तामा भावि संविधानका विवादित विषयमा छलफल गरिने बताईएको छ।

वार्ता गर्नुपर्ने त्यस्ता समूहको संख्या झन्डै ५० छ।

पचास

संविधानसभा बाहिर रहेका दल र समूहसँगको वार्तालाई अगाडि बढाउन गठन गरिएको उपसमितिले राजधानीमा रहेका विभिन्न समूहसँगको वार्तापछि सशस्त्र समूहसँग वार्ता गर्न लागेको हो।

त्यसका लागि समितिले तय गरेको तीनवटा स्थानमध्ये पहिलो वार्ता ईलामबाट शुरु गरिने समितिका संयोजक आनन्दप्रसाद ढुङगानाले बताए।

उनले भने, “ईलाम, जनकपुर र नेपालगंजमा वार्ता गर्छौ। पहिलो चरणमा ईलाममा ११ गतेको मिति तोकेका छौं। वार्ता सशस्त्र समूहसँग पनि गर्छौ।”

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत नै सभासद पूर्णबहादुर खडकाको संयोजकत्वमा बनेको अर्को उपसमितिले पहिचान गरे अनुरुप झन्डै ५० वटा सशस्त्र समूहसँग वार्ता गर्नुपर्ने छ।

प्रतिवेदन

सम्पर्क सूत्र मार्फत उनीहरुसँग सम्पर्क स्थापित भइसकेको उपसमितिका सदस्य सर्वेन्द्रनाथ शुक्लले बताए।

उनी भन्छन्, “मध्यस्तकर्ताहरुले समितिमा जानकारी दिए अनुसार सम्पर्क स्थापित भईसकेको छ। तर हामीले चिठी पठाएपछि मात्र वार्ताको मिति निश्चित हुन्छ।”

त्यस्ता समूहमा विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले वार्ता गरेका र नगरेका दुवै थरीका छन्।

विगतमा सहमति गरिएका समूहहरुसँग पनि वार्ता गर्नु पर्ने भएकाले सरकारको समेत प्रतिनिधित्व रहने शुक्लले बताए।

समितिले सबै वार्ताहरु सकेर साउनको अन्तिम सातासम्म मूल समितिमा आफ्नो प्रतिवेदन बुझाउने लक्ष्य लिएको छ।