शवहरुको जाँच गर्न विशेषज्ञहरु युक्रेनमा

  • 21 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption विमानमा सवार सबै २ सय ९८ व्यक्तिहरुको मृत्यु भएको थियो।

नेदरल्याण्ड्सका फोरेन्सिक विशेषज्ञहरुले पूर्वी युक्रेनको रेलवे स्टेशनमा गत साता मलेसियाली एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरुको शवलाई जाँच गरिरहेका छन्।

दुर्घटनास्थल नजिकै पुग्न उनीहरुलाई युरोपेली सुरक्षा तथा सहयोग संगठनका पर्यवेक्षकहरुले साथ दिएका थिए।

ती शवहरु लिनको लागि टोरेजबाट सोमबार एउटा रेल छुट्ने बताइएको छ। सो विमान दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये अधिकांश नेदरल्याण्डसका नागरिक थिए।

उद्धारकर्ताहरुले दुर्घटनास्थल वरपरबाट २५० शव र अन्य टुक्राहरु फेला पारेका छन्।

युक्रेनी सरकारका अनुसार शबहरु लैजानको लागि टोरेजमा दोस्रो विशेष रेल पुगेको छ।

व्यवस्था

फोरेन्सिक विशेषज्ञ टोलीको नेतृत्व गरेका पिटर भान भ्लायले शवहरु राख्नका लागि राम्रो व्यवस्था गरिएको बताए।

तीन डच अनुसन्धानकर्ताहरुले गत साता दुर्घटनाग्रस्त मलेशियाली एयरलाइन्सका यात्रुहरुको शव जाँच पूर्वी युक्रेनको रेलवे स्टेशनमा गरिरहेका छन्।

सो विमानमा रहेका सबै २ सय ९८ व्यक्तिहरुको मृत्यु भएको थियो।

अमेरिका र अन्य राष्ट्रहरुले १७ जुलाइमा भएको उक्त घटनामा रुसीहरुको हात रहेको तथ्यहरु बढ्दै गइरहेको बताएका छन्।

युक्रेनी अधिकारीहरुले अहिलेसम्म दुर्घटनामा परेका २ सय ७२ वटा लासहरु फेला परेको बताएका छन्।

युक्रेनका प्रधानमन्त्री आरसेनी यात्सेन्युकले नेदरल्यान्डस्लाई अन्तर्राष्ट्रिय अनुसन्धानको नेतृत्व लिइदिन प्रस्ताव गरेका छन्।

अपेक्षा

पूर्वी खार्किभ सहरमा रहेका छुट्टाछुट्टै समूहका ३१ अन्तराष्ट्रिय अनुसन्धानकर्ताहरुले छिट्टै दुर्घटनास्थल पुगेर अनुसन्धान सुरु गर्ने अपेक्षा गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तराष्ट्रिय विज्ञहरुलाई स्वतन्त्ररुपले अनुसन्धान गर्नको लागि पूर्ण रुपमा सुरक्षा दिनु आवश्यक रहेको बताएका छन्।

यसैबिच डोनेत्स्क् शहरमा लडाकुहरुबीच भिडन्त चर्कीरहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार ठूला हतियारहरु सहित सहर नजिकैको विमानस्थल र रेलवे स्टेसनमा भीडन्तहरु भइरहेको छन्।

त्याहाँ कम्तीमा ३ गैरसैनिकको हत्या भएको र एउटा घर जलेको बताइएको छ।

त्यहाँका वासिन्दाहरु विमानमार्फत सहर छोडेर अन्यत्रै गइरहेको बीबीसी संवाददाताले बताएका छन्।