हमासद्वारा युद्धविरामका लागि शर्त

  • 24 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption दुई हप्तादेखि भैरहेको लडाँइमा ३२ जना इजरेली सैनिकको ज्यान गएको छ

प्यालेस्टाइनको विद्रोही समुह हमासका एक जना नेताले इजरेलले लगाएको नाकाबन्दी अन्त्य नहुन्जेलसम्म गाजामा युद्धविराम हुन नसक्ने बताएका छन्।

हमासका नेता खालेद मत्सालले मानवीय सहयता पीडितहरुसम्म पुर्याउन युद्धविराम गर्न ढोका खुल्लै रहेको पनि उल्लेख गरेका छन्।

दुई हप्ता यता भैरहेको लडाँइमा हालसम्म कम्तीमा ६ सय ४९ प्यलेस्टीनी र ३२ इजरेली सैनिक मारिएका छन् भन्ने सयौँ घाइते भएका छन्।

गाजामा जारी युद्धमा अपराध भैरहेको हुनसक्ने आशंका गर्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार हेर्ने निकायले त्यसमाथि अनुसन्धान गर्ने निर्णय गरेको छ।

युद्धविराम

आठ बर्ष देखि जारी इजरेली आर्थिक नाकाबन्दी अन्त्य हुनुपर्ने बाहेक हमासले इजिप्टसँगको रफाह सिमाना खुल्ला गरिनुपर्ने र प्यालेस्टीनी बन्दीहरुलाई रिहाई गरिनुपर्ने माग राखेको छ।

तर घाइतेहरुको उद्दार लगायतका लागि मानवीय आधारमा युद्धविराम गर्नको लागि ढोका खुल्लै रहने हमासका नेता मत्सालले कतारमा आयोजित पत्रकार सम्मेलनमा बताए।

उनले अन्तरराष्ट्रिय समुदायलाई गाजामा औषधि, इन्धन र अन्य उपभोग्य सामान पुर्याउन अपिल गरे।

हमासका नेताको पछिल्लो प्रतिक्रिया गाजामा लडाँइ चर्कदै जाँदा आएको हो।

तस्वीर कपीराइट BBC World Service
Image caption लडाँइ नरोकिएपछि हजारौँ मानिसहरु विस्थापित भएका छन्

प्रत्यक्षदर्शीहरुले बुधवार पाच हजार प्यलेस्टिनीहरु इजरेली सैनिकले स्थल कारबाही अघि बढाएपछि खुजा गाउँबाट भागेको बताएका छन्।

इजरेली सैनिकले स्थल तथा हवाई कार्वाहि तीव्र पारेपछि गाजामा थप भीषण लडाँइहरु भैरहेका छन्।

गोलाबारीमा क्षतिग्रस्त भएपछि गाजाको एक मात्र विद्युत उत्पादन केन्द्र बन्द भएको छ।

प्रतिबन्ध

हमासले आफ्ना एक सैनिकलाई अपहरण गरेपछि इजरेलले सन् २००६ यता गाजा स्ट्रिपमा प्रतिबन्धहरु लगाउँदै आएको छ।

चुनावमा जितेर हमासले फताहलाई पाखा लगाउँदै बलपूर्वक गाजामाथि नियन्त्रण कायम गरेपछि इजरेल र इजिप्टले सन् २००७ मा थप नाकाबन्दीहरु लगाएका थिए।

हमास र फताहले गएको अप्रिलमा मेलमिलाप सम्बन्धी सहमति गरेका छन् जसलाई हमासलाई आंतकवादी समुहको सज्ञा दिने इजरेलले भत्सर्ना गरेको छ।

तस्वीर कपीराइट AP
Image caption राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नाभी पिल्लेले इजरेल गाजा द्वन्दमा बालबालिका मारिएकोमा चिन्ता व्यक्त गरेकी छन्

यसअघि मानवअधिकार हेर्ने संयुक्त राष्ट्रसंघीय निकायकी प्रमुख नाभी पिल्लेले इजरेलले गाजामाथि राखेको सैनिक कारवाही युद्धअपराध हुनसक्ने चेतावनी दिएकी थिइन्।

उनले जथाभावी रकेट हमला गरेको भन्दै हमासको पनि भत्सर्ना गरेकी थिइन्।

बुधवार नै जिनेभामा रहेको राष्ट्रसंघिय मानवअधिकार काउन्सिलले गाजामा भएको भनिएको युद्धअपराधबारे छानविन गर्ने निर्णय गरेको छ।

त्यसको विरोध गर्दै इजरेली न्यायमन्त्रीले आफ्नो देशले अन्तर्राष्ट्रिय कानुन अनुसार नै गतिविधि गरिरहेको बताएकी छन्।