मोदी साउन १८ मा नेपाल आउने

  • 24 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption मोदीले भुटानपछि छिमेकी मुलुकको भ्रमणका लागि नेपाललाई रोजेका हुन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही साउन १८ गते दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने पक्का भएको उच्च सरकारी अधिकारीहरुले बताएका छन्।

भारतीय पक्षले प्रस्ताव गरेको उक्त मिति तथा शनिवार हुन लागेको एउटा महत्वपूर्ण द्धिपक्षीय संयन्त्रको बैठकका विषयबारे जानकारी दिन बिहीबार प्रधानमन्त्री सुशील कोइरालासंग भेटेपछि परराष्ट्रमन्त्री महेन्द्र पाण्डे लगायत अधिकारीहरुले बीबीसीसंग त्यसको पुष्टि गरेका हुन्।

नेपाल भारत मामिलाका जानकारहरुले मोदीको उक्त भ्रमणलाई द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रुपमा अर्थाउँदै त्यसबाट फाइदा लिनका लागि गम्भीर गृहकार्य गर्न सरकारलाई सुझाएका छन्।

अबको १० दिनमा काठमाण्डू उत्रँदै गर्दा मोदी पछिल्लो १७ वर्षमा नेपालको द्धिपक्षीय भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नेछन्।

दक्षिण एसियाली क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन अटलविहारी बाजपेयी सन् २००२ मा काठमाडौं आएको बाहेक १९९७ मा इन्दरकुमार गुजरालपछि कुनै पनि भारतीय प्रधानमन्त्रीले नेपालको द्धिपक्षीय भ्रमण गरेका छैनन्।

संकेत

पछि छिमेकलाई प्राथमिकतामा राखेको बताएपनि कांग्रेस गठवन्धनको सरकारका प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो १० वर्षे सत्ता बसाईमा पाकिस्तान र नेपालबाहेक सबै छिमेकी देशको भ्रमण गरे।

तिनै सिंहको विदेश नीतिको कटु आलोचना गर्ने मोदीले आफूले सत्ता सम्हालेको दुई महिनामै भुटानपछि औपचारिक द्धिपक्षीय भ्रमणका लागि नेपाल रोजेका छन्।

कतिपयले यसलाई नेपालसहित छिमेकी भारतको प्राथमिकतामा रहेको व्यवहारिक संकेतका रुपमा व्याख्या गरेका छन्।

तिनैमध्येका एक भारतका लागि पूर्व नेपाली राजदूत भेखबहादुर थापाले भने, “भारतलाई मात्रै द्रुतगतिमा विकासको दिशामा लैजाने होइन नेपालसहित छिमेकी देशलाई पनि त्यसमा साथै लैजाने आशय मोदीले देखाएका छन्।”

पछिल्ला वर्षहरुमा पनि यस्तै साथको वाचा गरिएपनि दिल्लीले नेपाल मामिलामा कर्मचारीतन्त्र र गुप्तचर निकायलाई हावी गराएको तथा द्धिपक्षीय राजनीतिक सम्बन्धको धागो इतिहासमै कमजोर रहेको टीकाटिप्पणी हुने गरेका छन्।

सम्बन्ध सुधार

अब त्यो धागो बलियो बनाउन मोदीको भ्रमणले आधार तयार पार्ने कतिपयको व्याख्या छ।

तिनैमध्येका एक, भारतमा लामोसमय पत्रकारिता गरेका नेपाली पत्रकार युवराज घिमिरेले भने, “राजनीतिक तहमा सम्बन्ध स्थापनाका हिसाबले यसलाई महत्वपूर्ण मान्नुपर्छ। किनकी विगत आठ वर्षको कुरा गर्दा नेपाली पक्षबाट भारतीय कर्मचारीहरुसंग मात्रै भेटघाट हुने र राजनीतिक रुपमा कंग्रेस नेताहरुसंग मात्रै भेट हुने गर्थ्यौ। तर भारतीय जनता पार्टीसंग सम्बन्ध टुटेकै स्थिति थियो।”

त्यो बीचमा यस्तो सम्बन्ध टुटेको स्थिति रहेपनि विकासवादी छवि भएको ठानिएका मोदीको उदयसंगै नेपालले आफ्नो आर्थिक समृद्धिका लागि त्यसको उपयोग गर्नुपर्ने जानकारहरुको भनाइ छ।

त्यसै अनुरुप मोदीको नेपाल भ्रमणमा ठूला विकासका आयोजनाहरुको ठोस प्रस्ताव ल्याउन उनीहरुले सरकारलाई सुझाएका छन्।