अल्जेरियाको विमान मालीमा दुर्घटनाग्रस्त

  • 25 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption स्पेनी वायुसेवाबाट भाडामा लिएर चलाईएको उक्त विमानमा चालक दलका सबै सदस्य स्पेनी थिए

बुर्किना फासोबाट अल्जेरिया तर्फ जाँदै गर्दा बिहीबार ११६ जना यात्रु सहित वेपता भएको विमान दुर्घटनाग्रस्त अवस्थामा मालीमा फेला परेको अधिकारीहरुले बताएका छन्।

बुर्किनाको सेनाका अनुसार अल्जेरियाको राष्ट्रिय ध्वाजावाहाक एअर अलजेरीको विमान बुर्किना फासोको सिमानाबाट ५० किलोमिटर पर दुर्घटनाग्रस्त भएको थियो।

विमानमा सवार सबै उक्त दुर्घटनामा मारिएको अधिकारीहरुले बताएका छन्।

स्पेनी वायुसेवा स्विफ्ट एअरबाट भाडामा लिएर प्रयोग गरिदैँ आएको उक्त म्याकडोनल डग्लस ८३ फ्लाइट एच ५०१७ विमानमा यात्रा गर्नेमा ५१ जना फ्रेन्च नागरिक थिए।

दुर्घटना

चालकहरुले ठूलो हावा हुरी आइरहेको बताए लगतै विमानको हवाई ट्राफिक कन्ट्रोलरहरुसँग सम्पर्क टुटेको थियो।

मालीको राष्ट्रिय टेलिभिजनले दुर्घटनाग्रस्त विमानको अवशेष मालीको बोलुकेसी भन्ने स्थानमा बुर्किना फासोबाट गएको हेलिकप्टरले देखेको जनाएको छ।

बुर्किना फासोका सैनिक जनरल गिलर्बट डीएनडेरेले गोसी शहरको दक्षिण पश्चिममा विमान खसेको स्थानीयले देखेको बताएपछि मालीका अधिकारीहरुसँग सिमाक्षेत्रमा मिलेर खोजी कार्य अघि बढाइएको बताए।

उनले भने, “खोजीकार्यमा जुटेको टोलीले दुर्घटनास्थलमा विमानको टुक्राहरु फेला पारेको छ र मृतकहरुको शवको अवशेष पनि भेटाएको छ।”

उनले विमान पूर्ण रुपमा जलेको र त्यसका टुक्राहरु यत्रतत्र छरिएको पाइएको बताए।

यसअघि फ्रेन्च लडाकू विमान र संयुक्त राष्ट्रसंघका हेलिकप्टरहरुले उत्तरी मालीको दुर्गम मरुभूमीमा हराएको विमानको खोजी गरेका थिए।

वेपत्ता

बुर्कीना फासोको राजधानी उवागाडुगुबाट उडेको ५० मिनेट भित्रै उक्त विमानसँगको सम्पर्क टुटेको एअर अल्जेरियाले बताएको थियो।

दुर्घटना हुनु अघि चालकले नाइजरको हवाई नियन्त्रण कक्षसँग मरुभूमीमा आएको ठूलो आँधीका कारण मार्ग बदल्न लागेको जनाएका थिए।

चलक दलका ६ सदस्यहरु स्पेनी नागरीक रहेको स्पेनी पाइलटहरुको युनियनले जनाएको छ।

बीबीसीका पश्चिम अफ्रीका सम्वाददाता थोमस फेस्सी भन्छन् उक्त हवाई मार्ग फ्रेन्च पर्यटकहरुले बढी प्रयोग गर्ने गर्छन्।