भारतीय विदेशमन्त्री स्वराज नेपालमा

  • 25 जुलाई 2014
hydro तस्वीर कपीराइट no credit
Image caption नेपालको अपार जलस्रोतमा भारतको रुचि रहेको बताइन्छ

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको आधार तयार पार्न तथा २३ वर्षपछि हुन लागेको एउटा महत्वपूर्ण दुईपक्षीय संयन्त्रको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार काठमाडौं आइपुगेकी छिन्।

दक्षिण छिमेकीमा भारतीय जनता पार्टी नेतृत्वको नयां सरकार गठन भएपछि नेपाल आउने उनी पहिलो भारतीय उच्च नेता हुन्।

उनी स्वदेश फर्किएको एकसातामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनेछन्।

प्राथमिकता

सुरुमै छिमेक प्राथमिकतामा रहेको उद्घोष गरेको नरेन्द्र मोदी नेतृत्वको नयां सरकारले गठन भएकै दुई महिनामा छिमेकी मुलुकहरुमा उच्चस्तरीय भ्रमण तीव्र बनाएको छ।

बंगलादेश भ्रमणबाट फर्किएको एक महिना नबित्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज अर्को छिमेकी मुलुक नेपाल आइपुगेकी छन्।

भारतीय प्रधानमन्त्री मोदीपनि भुटान पुगेको डेढ महिनामै औपचारिक द्धिपक्षीय भ्रमणका लागि साउन १८ गते नेपाल आउंदैछन्।

त्रिभुवन विमानस्थलमा शुक्रबार उत्रिएपछि स्वराजले यस्ता उच्चस्तरीय भ्रमणतर्फ संकेत गर्दै नेपाल मोदी सरकारको उच्चप्राथिमकतामा रहेको उल्लेख गर्न भुलिनन्।

उनले भनिन्, “भारतमा जुन नयां सरकार आएको छ उसको उच्च प्राथमिकतामा नेपाल छ। म धेरै आशा र अपेक्षा लिएर यहां आएको छु। मलाई लाग्छ मेरो यो भ्रमणले भारत नेपाल सम्बन्ध अझ सुदृढ र मजबुत हुनेछ”।

छलफल

आफ्नो तीन दिने नेपाल बसाइको दोस्रो दिन शनिबार स्वराजले झण्डै साढे दुई दशकपछि बस्न लागेको विदेशमन्त्री स्तरीय संयुक्त संयन्त्र जोइन्ट कमिसनको बैठकमा भाग लिनेछिन्।

नेपाल-भारतबीचको सबैभन्दा उच्चस्तरीय संयन्त्र जोइन्ट कमिसनले राजनीति, सुरक्षा र सीमा, आर्थिक सहकार्य र पूर्वाधार, व्यापार र पारवहन, उर्जा र जलस्रोत तथा संस्कृति, शिक्षा र सञ्चारक्षेत्रबारे छलफल गर्ने बताइएको छ।

नेपालले मध्य पहाडी राजमार्ग निर्माण गर्ने, पूर्व पश्चिम राजमार्ग फराकिलो बनाउने, लामो समयदेखि थाती रहेको पञ्चेश्वर योजनाका लागि प्राधिकरण गठन गर्ने, सुपुर्दगी सन्धिसंग जोडिएको आपसी कानूनी सहायता लगायतका विषय अगाडि सार्न लागेको परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले बताए।

बारम्बर कुरा उठ्ने गरेपनि कुनै ठोस काम हुन नसकेको सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन सम्बन्धी विषय पनि उठाउने तयारी भैरहेको पाण्डेले बताए।

उनले भने, “सचिवस्तरमा पुनरावलोकनका लागि काम गर्ने भनिएको थियो तर त्यो पनि सक्रिय हुन सकेको छैन। विशिष्ट व्यक्तिहरुसहितको समूह बनाउने भनेको पनि हुन सकेको छैन। त्यो विषय उठाउंछौं”।

यस्ता विषयमा छलफल हुने जोइन्ट कमिसनमा भाग लिनुका अतिरिक्त स्वराजले आइतबार स्वदेश फर्कनुअघि राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुसंग भेटघाट गर्ने अधिकारीहरुले बताएका छन्।