गाजामा १२ घण्टे युद्धविराम

  • 26 जुलाई 2014
तस्वीर कपीराइट
Image caption सहजकर्ताहरुले कम्तिमा एक हप्ते युद्धविराम गराउन पहल गरिरहेका छन्

इजरेल सरकार र प्यालेस्टिनी विद्रोही समूह हमासबीच शनिबार बिहानबाट लागू हुने गरी मानवीय आधारमा गाजामा १२ घण्टा युद्धविराम गर्ने सहमति भएको छ।

यसअघि इजरेलले अमेरिकी विदेशमन्त्री जोन केरीले प्रस्तुत गरेको विस्तृत युद्धविरामको खाका अस्वीकार गरेको थियो।

अमेरिकाले संयुक्त राष्ट्रसंघका महासचिवसँग सहकार्य गर्दै दुई पक्ष बीच कम्तिमा एक हप्ता युद्धविराम गराउन पहल जारी राख्ने बताएको छ।

१८ दिनदेखि गाजामा जारी लडाइमा अधिकांश सर्वसाधारण सहित ८०० जना प्यालेस्टानी र ३६ जना इजरेलीको ज्यान गैसकेको छ।

युद्धविराम

शनिबार जिएमटी समय पाँच बजेबाट युद्धविराम सुरु हुने दुवै पक्षले जनाएका छन्।

तस्वीर कपीराइट AP
Image caption कायरोमा कुनै टुंगोमा पुग्न नसकेपछि शनिबार युद्धविराम गराउने पहलमा फ्रान्समा अर्को छलफल हुदैँछ

गाजामा नियन्त्रण कायम गरेको विद्रोही समूह हमासका प्रवक्ता सामी अबु जुरीले मानवीय आधारमा १२ घण्टा युद्धविराम गर्ने बारेमा राष्ट्रिय सहमती जुटेको बताए।

इजरेली सेनाले जारी गरेको वक्तव्यमा यसअघि घर छाडेर जान चेतावनी दिइएका प्यालेस्टिनीहरुलाई पुन नफर्कन आग्रह गर्दै कुनै किसिमको आक्रमण भए प्रत्याक्रमण गर्ने उल्लेख गरिएको छ।

यसअघि संचारमाध्यमहरुले इजरेलले युद्धविरामको प्रस्ताव अस्वीकार गरेको खबरहरु सार्वजनिक गरिरहँदा अमेरिकी विदेशमन्त्री जोन केरीले उनी लामो समयका लागी युद्धविराम हुनेछ भन्नेमा विश्वस्त रहेको बताएका थिए।

कायरोमा बोल्दै केरीले भने, “हामी एउटा संक्षिप्त सात दिने शान्तिको प्रस्तावमा सहमति जुटाउन प्रयत्न गरिरहेका छौँ, इद पर्वको सम्मानमा मानवीय आधारमा युद्धविराम गराएर हामी सबै पक्षलाई एक साथ ल्याएर दिगो र टिकाउ समाधान खोज्ने पक्षमा छौँ।”

उनले ‍उक्त प्रस्तावमा सहमति जुटाउन आफूले संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनसँग मिलेर काम गर्ने बताए।

महासचिव बानले गाजा सकंटको सैनिक समाधान नरहेको पुष्टी भैसकेको बताउँदै भने, “इजरेली सर्वसाधारणहरु हमासको रेकट आक्रमण हुने त्रासमा बसिरहनु परेको छ हामीले वेस्ट बैंकमा पनि अशान्ति बढ्दै गएको देखिरहेका छौँ, सम्वद्ध पक्षले अब लडाँइ अन्त्य गर्न केहि गर्ने ठिक समय यही हो भन्ने महसुस गर्नैपर्छ।”

तस्वीर कपीराइट AFP
Image caption झन्डै अढाई हप्ता यताको लडाँइमा गाजाबाट हजारौँ विस्थापित भएका छन्

यस अघि हमासले इजरेलले गाजा स्ट्रिपमा कायम राखेको नाकाबन्दी अन्त्य नभएसम्म युद्धविराम स्वीकार नगर्ने बताएको थियो।

लडाँइ

रोयटर्स समाचार संस्थाका अनुसार शुक्रबार भएको इजरेली हवाई आक्रमणमा गाजामा थप ५५ जनाको ज्यान गएको छ।

वेस्ट बैंकमा भएको प्रदर्शनमा पनि भिडन्त भएको थियो जसमा ५ प्यालेस्टिनी मारिएका छन्।

तस्वीर कपीराइट AFP
Image caption इजरेलमाथि निरन्तर हमासले रकेट हमला गरेकोमा राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ

वेस्ट बेंकका प्यालेस्टिनीहरुले इजरेलले गाजामा जारी राखेको सैनिक कार्वाहीको विरोधमा शुक्रबारलाई क्रोधको दिनको रुपमा मनाएका छन्।

त्यहाँको बेट फज्जार शहरमा एक जना किशोरको गोली लागेर ज्यान गएको विवरणहरु प्राप्त भएका छन्।

रमादान मनाइरहेका मुसलमानहरु दिनभर निराहार बस्ने हुदाँ अधिकांश प्यालेस्टिनीहरुले साँझको समयमा प्रदर्शन गरिरहेका छन्।

इजरेली सेनाले उसको आइरन डोम रक्षा प्रणालीले हमासले प्रहार गरेका रकेटहरुलाई निस्क्रिय तुल्याएको जनाएको छ।

यसैबीच अमेरिका, युरोपेली संघ, जर्मनी, टर्की र कतारका विदेशमन्त्रीहरुले गाजा संकटको कुटनीतिक समाधान खोज्ने उद्देश्यले शनिबार फ्रान्समा बैठक गर्दैछन्।