'समयमै समावेशी संविधान भारतीय अपेक्षा'

  • 26 जुलाई 2014
joint commission तस्वीर कपीराइट MEA India
Image caption २३ वर्षपछि नेपाल र भारतका परराष्ट्रमन्त्रीहरु तहको संयुक्त संयन्त्रको बैठक शनिबार बसेको थियो

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा निर्धारित अवधिमै समावेशी र सबैलाई मान्य हुने संविधान जारी हुने भारतको अपेक्षा रहेको बताएकी छिन्।

आफ्नो तीन दिने नेपाल भ्रमणको दोस्रो दिन शनिबार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रमुख विपक्षी दल र तराई केन्द्रित दलका नेताहरुसंग भएको भेटमा उनले त्यस्तो धारणा राखेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका हुन्।

स्वराजले शनिबार नै २३ वर्षपछि बसेको विदेशमन्त्री स्तरको संयुक्त संयन्त्र जोइन्ट कमिसनको बैठकमा पनि भाग लिइन्।

समावेशी

सुरुमा दुवै देशका परराष्ट्रमन्त्रीले जोइन्ट कमिसनको बैठकपछि त्यसका निष्कर्षबारे संयुक्त रुपमा सांझ प्रेसलाई सम्बोधन गर्ने योजना थियो।

तर बैठक जारी रहेको भन्दै अचानक भारतीय विदेशमन्त्रालयका प्रवक्ता सैय्यद अकबरुद्धिन प्रेस सामू प्रस्तुत भएर स्वराजका उच्चस्तरीय भेटबारे जानकारी दिएका थिए।

ती भेटमा स्वराजले काठमान्डू उत्रिएलगत्तै व्यक्त गरेको धारणासंगै मिल्दोजुल्दो भनाइ राख्दै नेपाल नरेन्द्र मोदी नेतृत्वको सरकारको उच्चप्राथमकितामा रहेको र आफूहरुले द्धिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहेको बताइन्।

अहिले संविधान निर्माणमा जुटेका नेपाली शक्तिहरुसंगको उक्त भेटमा उनले नेपालले निर्धारण गरेको समयभित्रै संविधान जारी हुने अपेक्षा राखेको प्रवक्ता अकबरुद्धिनले जानकारी दिए।

उनले भने, “भारतको आशा के हो भने नेपालका दलहरुले सबैलाई मान्य हुने र सबैको अपेक्षा समेट्ने गरी समावेशी संविधान बनाउन काम गरुन्”।

अपेक्षा

जवाफमा नेपाली नेताहरुले त्यस्तो संविधान निर्माणका लागि भारतीय सदभावको अपेक्षा राखेको बताइएको छ।

तर स्वराजको भेटको सूचीमा भारतको कटु आलोचना गर्ने मोहन वैद्य नेतृत्वको नेकपा माओवादी परेको थिएन।

प्रवक्ता अकबरुद्धिनले भेटका लागि अनुरोध नआएकाले वैद्यसंग कुराकानी नभएको बताएपनि सत्तारुढ घटक एमालेका शीर्ष नेतृत्वसंग भेट्ने पूर्वनिर्धारित योजना भने समयको तलमाथिले अलमलमा परेको बताएका थिए।

पत्रकार सम्मेलनमा उनले पछिल्लोपटक तीव्र विवादको विषय बनेको उर्जा क्षेत्रमा सहकार्यसम्बन्धी भारतीय प्रस्तावमाथि समेत टिप्पणी गर्दै दुवै मुलुकलाई फाइदा हुने गरी सम्झौता गर्न भारत तयार रहेको बताए।

उनले भने, “यदि तपाईहरु सहज महसुस गर्नुहुन्छ भने आफूलाई आवश्यक पर्ने विद्युत उत्पादन गरी बढी भएको भारतलाई बजारकै मूल्यमा बेच्न चाहनुहुन्छ भने त्यो दुवै पक्षका लागि जीतको अवस्था हो”।

उर्जामा सहकार्यसम्बन्धी यस्ता विषयले स्वराजको उच्चस्तरीय भेटहरुमा प्रवेश पाए/नपाएको प्रष्ट नभएपनि कतिपय नेपाली नेताले नेपाल-भारतबीच रहेका त्यस्ता असमझदारी र आशंकाहरु हटाएर द्धिपक्षीय सम्बन्धलाई नयां उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको अधिकारीहरुले बताएका छन्।