'युद्धविराम' पछि पनि भीडन्त

  • 27 जुलाई 2014
तस्वीर कपीराइट AP
Image caption युद्धविराम अन्त्य भएको घोषणा गरेसँगै इजरेलले गाजामा पुनः आक्रमण तीव्र पारेको छ

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजामा २४ घण्टे युद्धविरामको घोषणा गरे लगत्तै फेरि इजरेलमाथि रकेट हमलाहरु शुरु गरेको छ।

यसअघि हमासले २४ घण्टे युद्धविरामको घोषणा गरेको थियो।

सो समूहले गाजाबाट रकेट प्रहार जारी राखेको भन्दै इजरेलले यसअघिको मानवीय युद्धविराम अन्त्य गरेको केही घण्टापछि हमासले युद्धविरामको घोषणा गरेको थियो।

हमासका एक जना प्रवक्ता समी अबु जुहरीले रमजानको अन्त्यको तयारी र संयुक्त राष्ट्रसंघको पहललाई मध्यनजर गर्दै प्यालेस्टिनी समूहहरुबीच युद्धविराम गर्ने सहमति भएको बताए।

इजरेलले औपचारिक प्रतिक्रिया नजनाएपनि प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमास विद्रोहीहरुले आफ्नै युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाए।

स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजेदेखि युद्धविराम शुरु हुने हमासले जनाएको थियो।

त्यसपछि प्यालेस्टिनी विद्रोहीहरुबाट रकेट प्रहार जारी रहेको भन्दै थोरै समयको संघर्षविरामपछि इजरेलले पुनः आक्रमण शुरु गरेको थियो।

युद्धविराम

इजरेल र हमासबीचको पछिल्लो द्वन्द्वमा परी करीब एक हजार ६० जना प्यालेस्टिनीहरु र ४६ जना इजरेली मारिएका छन्।

यसअघि संयुक्त राष्ट्रसंघको आग्रहमा इजरेलले शनिबार १२ घण्टे युद्धविरामको समयावधि लम्ब्याएर आइतबारसम्मका लागि कायम गरेको थियो।

यद्यपि मानवीय युद्धविराम अस्वीकार गरी प्यालेस्टिनी विद्रोहीहरुले रकेट प्रहार जारी राखेको भन्दै इजरेली सेनाले आईतबार बिहान गाजामा पुनः हवाइ, स्थलगत र नौसैनिक आक्रमण गर्ने निर्णय गरेको जनाएको थियो।

यसअघि इजरेली सेनाले गाजा नछाडेसम्म र विस्थापितहरुलाई घर फर्कन नदिउञ्जेल युद्धविराम स्वीकार्य नहुने हमासले बताएको थियो।

अमेरिकी टेलिभिजन सिएनएनसँग कुरा गर्दै इजरेली प्रधानमन्त्री नेतन्याहुले आफ्ना नागरिको सुरक्षाका लागि आवश्यक पर्ने जस्तोसुकै कदम चाल्ने बताए।

आक्रमण

गाजामा रहेका संवाददाताहरुले इजरेलले पुनः हवाई आक्रमण शुरु गरेपछि धेरै जिल्लाहरुमा विष्फोटको ठूलो आवाज सुन्न सकिने बताएका छन।

गाजामा भीषण आक्रमण भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबारको आक्रमणमा परी ८ जना प्यालेस्टिनीहरु मारिएका छन।

शनिबार रातिदेखि २८ वटा रकेट प्रहार गरिएको इजरेली सुरक्षा बलले जनाएको छ।

मोर्टार आक्रमणबाट आइतबार बिहान एकजना सैनिक मारिएको उसले बतायो।

हमासको सशस्त्र दस्ता कास्साम ब्रिगेडले लामो र छोटो दूरीका थुप्रै क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

आफ्नो भूमिमा हमास विद्रोहीबाट हुने रकेट प्रहार रोक्ने घोषित उद्देश्यका साथ इजरेलले गत जुलाई ८ तारेखदेखि गाजामा आक्रमण शुरु गरेको थियो।