गाजामा पुनः आक्रमण थालिदैः इजरेल

  • 27 जुलाई 2014
तस्वीर कपीराइट na
Image caption युद्धविरामको बेवास्ता गर्दै हमास विद्रोहीले रकेट प्रहार जारी राखेको इजरेली सेनाले बताएको छ

मानवीय युद्धविराम अस्वीकार गरी प्यालेस्टिनी विद्रोहीहरुले रकेट प्रहार जारी राखेको भन्दै इजरेली सेनाले गाजामा पुनः हवाई, स्थलगत र नौसैनिक आक्रमण गर्न लागेको जनाएको छ।

२४ घण्टाका लागि मानवीय युद्धविराम गर्न संयुक्त राष्ट्रसंघले गरेको आग्रह स्वीकारे पनि इजरेलले हमास विद्रोहीबाट त्यसको उल्लंघन भए प्रतिकार गर्ने चेतावनी दिएको थियो।

इजरेली सेनाले गाजा नछाडेसम्म र विस्थापितहरुलाई घर फर्कन नदिउञ्जेल युद्धविराम स्वीकार्य नहुने हमासले बताएको छ।

इजरेल र हमासबीचको पछिल्लो द्वन्द्वमा एक हजारभन्दा बढी प्यालेस्टिनीहरु र ४६ जना इजरेली मारिएका छन।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजामा मारिनेमध्ये अधिकांश सर्वसाधारण नागरिक रहेका छन।

इजरेलतर्फ ३ जना सर्वसाधारण र ४३ जना सेना मारिएका छन।

उल्लंघन

शनिबार भएको युद्धविरामका बेला गाजाका धेरै बासिन्दाहरुले अत्यावश्यक सामान जम्मा गरे र भग्नावशेषमा पुरिएकाहरुको शव निकाले।

गाजाका सर्वसाधारण नागरिकको कल्याणका लागि गरिएको मानवीय युद्धविरामका बेला पनि हमास विद्रोहीले रकेट प्रहार जारी राखेकाले आफ्नो रक्षा बलले पुनः हवाई, स्थलगत र नौसैनिक कारवाही थाल्ने इजरेली सेनाले आईतबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि इजरेली मन्त्रिपरिषद्ले शनिबारसम्मका लागि गरिएको युद्धविरामलाई आईतबारसम्म लम्ब्याउने निर्णय गरेको थियो।

यद्यपि त्यसबारे हमासको तर्फबाट कुनै सहमति भएन।

इजरेली सेनाले भने युद्धविरामका बेला पनि हमास विद्रोहीले प्रयोग गर्ने सुरुङमा आक्रमण गर्ने पुष्टि गरेको छ।

आक्रमण

इजरेली रक्षा बलका वरिष्ठ सैनिक अधिकारी पिटर लर्नरले मानवीय युद्धविरामको हमासबाट व्यापक उल्लंघन भएकोले आफूहरुले पुनः कारवाही थाल्ने आईतबार बताए।

हमास विद्रोहीले यसअघिको युद्धविरामलाई इजरेलले थप आक्रमणका लागि प्रयोग गरेको र शनिबारको युद्धविरामको उल्लंघन समेत गरेको आरोप लगाएको छ।

अस्थायी युद्धविरामका बेला आईतबार इजरेली शहरहरुमा रकेटको आवाज सुनिएको बताइएको छ।

शनिबार रातिदेखि २० वटा रकेट प्रहार गरिएको इजरेली सुरक्षा बलले जनाएको छ।

मोर्टार आक्रमणबाट आईतबार बिहान एकजना सैनिक मारिएको उसले बताएको छ।

हमासको सशस्त्र दस्ता कास्साम ब्रिगेडले लमो र छोटो दूरीका थुप्रै क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

आफ्नो भूमिमा हमास विद्रोहीबाट हुने रकेट प्रहार रोक्ने घोषित उद्देश्यका साथ इजरेलले गत जुलाई ८ तारेखदेखि गाजामा आक्रमण शुरु गरेको थियो।