वीर अस्पतालमा उपकरण अभाव

  • 28 जुलाई 2014
तस्वीर कपीराइट bbc
Image caption अस्पतालको स्तरवृद्धि गर्न माग गर्दै आवसीय चिकित्सकहरु अन्दोलनमा उत्रिएका छन्

देशकै जेठो वीर अस्पतालमा अत्यावश्यक उपकरणहरु नहुँदा उपचार गराउन आएका बिरामीहरुलाई बाहिर उपचार गर्न पठाउनुपर्ने अवस्था आएको अधिकारीहरुले बताएका छन्।

बेला बेला बिभिन्न आन्दोलन र हडताल झेल्दै आएको उक्त अस्पतालमा हुँदै आएको तीव्र राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनले पछिल्लो समस्या निम्त्याएको सरोकारवालाहरुको भनाई छ।

आफ्नो स्थापना भएको १ सय २५ बर्ष अस्पतालले सोमबार पुरा गरिरहँदा स्तरवृद्धिको माग गर्दै आवसीय चिकित्सकहरुले आन्दोलन गरिरहेका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नहुँदा उपकरण खरिद गर्न नसकिएको भन्दै अस्पताल प्रशासनले आफ्नो बचाउ पनि गरेको छ।

भद्रगोल

आफू बिरामी हुँदा जिल्ला र क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभए मुलुककै मानिसहरुले ४५८ शैयाको क्षमता रहेको वीर अस्पताललाई सम्झने गर्छन्।

सस्तो उपचारका लागी सबैको भरोसा बनेको यस अस्पतालमा आउने सर्वसाधारणले अहिले सिटी स्क्यान, अल्ट्रासाउन्ड, एमआरआई एक्सरे जस्ता जाँचहरु निजी क्लिनिकहरूमा गर्नुपर्ने बाध्यता छ।

सिटी स्क्यान गर्ने मेसिन बिग्रीएको झन्डै १ वर्ष पुग्दासम्म न त त्यसको मर्मत भएको छ न त नयाँ खरिद प्रक्रिया नै अगाडि बढेको छ।

मृगौलाका बिरामीका लागी गरिने हिमो डाईलोसिस सेवाका लागी आवश्यक पर्ने १५ वटा मध्य ५ वटा उपकरण बिग्रीएको अवस्थामा छन्।

सघन उपचार कक्ष भनिने आईसियुका समेत कतिपय उपकरण बिग्रिएर थन्किएका छन्।

हालै नियुक्त भएका निर्देशक केदारप्रसाद सेन्चुरी उपकरणहरु बिग्रीएका कारण सेवा दिन नसकेको स्विकार गर्दै समस्या हल गर्न पहल शुरु गरिएको बताउछन्।

उनी भन्छन्, “उपकरणहरु बिग्रीएको कारण सेवाग्राहीहरु मर्कामा परिरहेको अनुभव हामीले गरेका छौं र त्यो कुरा समाधान गर्ने तिर उन्मुख छौं।”

नियुक्ति

अस्पतालको सेवामा सुधार गर्न नीतिगत निर्णय गर्ने आधिकारीक निकाय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान केही महिनादेखी पदाधिकारीविहिन अवस्थामा छ।

उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायतका पदाधिकारीको पद रिक्त रहेकाले अस्पतालले गरेका पहलहरु अन्तिम टुङगोमा पुग्न नसकेको निर्देशक सेन्चुरीले बताए ।

उनले भने, “बढी लागतको उपकरण मर्मत गर्ने अनुमती लिन पदाधिकारीकोमा जानैपर्ने हुन्छ, जती चाँडो नियुक्ति हुन्छ त्यती यी कुराहरु अगाडी बढाउन सजिलो हुन्छ।”

स्वास्थ्य मन्त्री खगराज अधिकारीले सिफारीस कमीटि बनेर नियुक्ति प्रक्रिया अगाडी बढी रहेको बताउँछन्।

जानकारहरुका अनुसार मुख्य दलहरुका बिचमा राजनितिक भागबन्डा नमिलेकाले पदाधिकारी नियुक्तिको कुरा अघि बढ्न नसकेको हो।

स्वास्थ्य क्षेत्रको सिङगो इतिहास बोकेको वीर अस्पतालले वार्षिकोत्सव मनाइरहँदा चिकित्सकहरुको आन्दोलनपछि अस्पतालको सेवा अवरुद्ध बनेको छ।