दलहरुबीच सहमति जुटाउने प्रयास विफल

  • 28 जुलाई 2014
Image caption मंगलबार बस्ने भनिएको प्रमुख दलको बैठकले थाती रहेका केही विषयमा सहमति जुटाउन सक्ने अपेक्षा गरिएको छ

सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन र संविधानसभाका बाँकी २६ जना सभासद मनोयन जस्ता महत्वपूर्ण विषयमा सहमति जुटाउने प्रयासस्वरुप लामो समयपछि बसेको प्रमुख तीन दलको सोमबारको बैठकले पनि ठोस सहमति जुटाउन सकेन।

बैठकमा सहभागी तीनवटै दलका नेताहरुले सोमबारको बैठकमा ती विषयहरुमा सामान्य छलफल मात्र भएको बताए।

मंगलबार पुनः बस्ने बैठकमा ती विषय र भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणबारे छलफल हुने उनीहरुको भनाइ छ।

अमेरिकामा क्यान्सर रोगको उपचार गराएर प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्केपछि सोमबार बसेको प्रमुख दलको बैठकमा सभासद मनोनयन, उच्चस्तरीय राजनीतिक समिति र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने लगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको थियो।

सहमति

तर लामो समयदेखि थाती रहेका ती विषयहरुबारे सोमबार सहमति किन जुट्न सकेन?

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका एकजना नेता पोष्टबहादुर बोगटीले भने, ''सत्य निरुपण तथा मेलमिलाप गठनमा ढिलाइ भइरहेको छ र त्यसलाई अघि लैजानुपर्छ भनी चर्चामा आयो र, २६ जनाको विषयमा पनि चर्चामा आयो। तर त्यसमा हामीले सहमति जुटाउन सकेनौं।''

थाती रहेका विषयहरुमा कुनै सहमति नभएपनि नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि शीर्ष नेताहरु सम्मिलित कार्यदल गठन गर्ने सम्बन्धमा भने समझदारीमा पुगेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

उनले थपे, ''संविधानसभाको संवैधानिक समितिमा नै शीर्ष नेताहरु हुनुहुन्छ। अब तिनीहरुमध्येबाट नेताहरु रहेको एउटा कार्यदल गठन गर्ने र विवादित विषयमा सहमति गर्ने कुरा भएको छ।''

निष्कर्ष

त्यसबाहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका बेला हुने सहमति तथा समझदारीका विषयमा छलफल भएको नेताहरुले बताएका छन।

त्यसबारे मंगलबार पुनः बस्ने बैठकबाट निष्कर्षमा पुगिने नेकपा एमाले उपाध्यक्ष भीम रावलले बताए।

उनले भने, ''त्यस सम्बन्धमा नेपाल सरकारले गरेका तयारी र उसका कार्ययोजनाहरु के के छन? ती कुराहरु बुझेपछि राजनीतिक दलहरुबाट संभवतः सामान्यरुपमा अब यसरी अगाडि बढ्दा उचित हुन्छ भन्ने निष्कर्ष निस्कन सक्छ।''

उपचारका सिलसिलामा हाल देश बाहिर रहेका एमाले अध्यक्ष केपी ओली शर्मा मंगलबार स्वदेश फर्किने भएकाले सभासद मनोनयन लगायतका विषयमा मुख्य तीन दलबीच छिट्टै सहमति हुन सक्ने संकेत नेताहरुले दिएका छन्।

तर दलका नेताहरुको ध्यान लामो समयपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुन थालिसकेको देखिँदा थाती मुद्दाहरुबारे तत्काल सहमति जुट्नेमा आशंकाहरु कायमै छन्।