"गाजामा सैनिक कार्वाही लम्बिन सक्ने"

  • 29 जुलाई 2014
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहु तस्वीर कपीराइट Getty Images
Image caption इजरेली प्रधानमन्त्रीले गाजामा इजरेली सैनिक कार्वाही लामो समयसम्म चल्न सक्ने चेतावनी दिएका छन्

इजरेलका प्रधानमन्त्री बेन्जमीन नेतन्याहूले, इजरेलले गाजामा लामो समयसम्मको सैनिक कार्वाहीका लागि आफूलाई तयार राख्‍नु पर्ने बताएका छन्।

गाजामा रहेका सुरुंगहरुको संजाल नष्ट गर्ने उद्देश्य हासिल नभएसम्म सैनिक कार्वाही जारी राखिने उनको भनाई छ।

“हाम्रा नागरिकहरु, हाम्रा केटाकेटीहरुलाई नष्ट गर्ने एकमात्र उद्देश्यका साथ बनाइएका त्यस्ता सुरुंगहरुलाई नष्ट नगरिकन यो सैनिक कार्वाहीको अन्त्य हुने छैन।“

इजरेली प्रधानमन्त्रीको त्यस्तो चेतावनी पछि रातभर गाजामा ठूलो गोलाबारी भएको छ।

विवरणहरुका अनुसार हमासका नेता इस्माइल हानियाको घरमा पनि गोलाबारी भएको छ तर त्यहां कोही पनि नबस्ने हुनाले कसैलाई चोटपटक भने नलागेको बताइएको छ।

प्यालेष्टीनी स्वास्थ्य मन्त्रालयले सोमबार झण्डै पचास जनाको ज्यान गएको जनाएको छ जस मध्ये एउटा खेल मैदानमा रहेका आठजना बालबालिकाहरु पनि रहेका छन्।

तस्वीर कपीराइट AFP
Image caption इजरेली प्रधानमन्त्रीको चेतावनीपछि गाजामा रातभर गोलाबारी भएको थियो

उक्त घटनाका लागि प्यालेष्टिनी रकेट जीम्मेवार रहेको इजरेलले जनाएको छ।

गैरसैनिक

गत जुलाई आठ तारिख देखि चर्केको इजरेल र हमासबीचको संघर्षमा एकहजार जना भन्दा बढी प्यालेष्टिनीहरुको ज्यान गैसकेको छ, जस्मध्ये धेरै जसो गैरसैनिकहरु छन्।

सोमबारको घटना सहित हालसम्म ४८ जना इजरेली सैनिकहरु मारिएका छन्। तीन जना गैरसैनिकहरु पनि मारिएका छन्।

संयुक्त राष्ट्र संघका महासचिब बान की मुनले गाजाको अवस्था एकदमै नाजुक रहेको भन्दै त्यहांका हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका थिए।

तस्वीर कपीराइट EPA
Image caption गाजामा इजरेली हमलापछि हालसम्म एकहजार जना भन्दा बढीको ज्यान गैसकेको छ जस्मा धेरै गैरसैनिकहरु छन्

त्यस क्षेत्रको भ्रणमपछि न्यू योर्कमा बोल्दै महासचिब बानले द्वन्द्वका दुवै पक्षले गैरसैनिक क्षेत्रमा हमला गरेकामा चिन्ता व्यक्त गरेका थिए।

उनले भने हमासले इजरेलको गैर सैनिक क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ भने इजरेलले गाजा स्ट्रीपको गैरसैनिकहरुको बाक्लो उपस्थिती रहेको स्थानमा ठूला विस्फोटक अस्त्रको प्रयोग गरेको छ।

राष्ट्र संघीय महासचिवले मुसलमानहरुको धार्मिक पर्व इद उल फित्रको अवसरमा गाजामा तत्काल नि:शर्त मानवीय संघर्षविराम गर्न पुन: आह्वान गरेका थिए।