डेढ दशक यता औषतभन्दा कम वर्षा

  • 2 अगस्ट 2014
Image caption यस वर्ष पनि औषतभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ

पछिल्लो चौध वर्षको एउटा तथ्यांकले नेपालमा मनसुनमा हुने वर्षामा कमी आउने प्रवृति बढ्दै गएको देखाएको छ।

जल तथा मौसम विज्ञान विभागको उक्त तथ्यांक अनुसार २०५७ सालदेखि केही वर्ष वाहेक या त औसत या कम वर्षा भएको देखिन्छ।

कम

नेपालमा ४३ वर्षअघिदेखि मनसुनको अभिलेख राख्ने चलन सुरु भएको हो।

त्यसयता २०४९ सालमा मनसुनी वर्षा अत्याधिक कम भएको अभिलेख छ।

२०५७ सातयता चाहि तीनवटा वर्ष बाहेक औसत वा त्यसभन्दा पनि कम वर्षा हुने प्रवृत्ति देखिएको जल तथा मौसम विज्ञान विभागका उप-महानिर्देशक सरजुकुमार वैद्यले बताए।

उनले भने, “त्यसयताका पाँच वर्ष औषत मात्रै पानी पर्यो। अन्य चार वर्ष त औषतभन्दा कम पानी पर्यो। तीन वर्ष मात्र औषतभन्दा बढी पानी पर्यो।"

औसत

मनसुनमा भएको वर्षा नाप्न विभागले देशभर झण्डै तीन सयवटा मापन केन्द्रहरु राखेको छ।

१५५० मिलिमिटर पानी परे औसत वर्षा भएको मानिन्छ।

विभागका अनुसार गएको डेढ दशकको अवधिमा २०६२ सालमा सबैभन्दा कम पानी परेको छ।

यस वर्ष मध्य मनसुन बित्नै लाग्दा पनि अपेक्षित वर्षा हुन नसकेको र अवस्था सुध्रने लक्षण अझै नदेखिएको विभागले जनाएको छ।

एलिनो

यसरी पछिल्ला केही वर्षमा वर्षा कम हुनुको कारणबारे मौसमविद्हरु एलनीनोलाई जिम्मेवार ठान्छन्।

उप-महानिर्देशक वैद्यले भने, "प्रशान्त महासागरको समुन्द्रको पानी सामान्य भन्दा बढी तातो भयो भने त्यसलाई एलिनो भनिन्छ। त्यो एलिनो भयो भने नेपालमा औषतभन्दा कम पानी पर्छ।"

मनसुनमा वर्षा कम हुने प्रवृत्तिले खास गरी कृषी र विद्युत उत्पादनमा नकारात्मक प्रभाव पारिरहेको जानकारहरुले बताएका छन्।