'दुईसय प्यालेस्टिनीको मृत्यु'

  • 2 अगस्ट 2014
तस्वीर कपीराइट
Image caption हराईरहेको आफ्नो एक सैनिकको खोजीसँगै इजरेलले गाजामाथि आक्रमण तीव्र पारेको छ

गाजा स्ट्रिपका स्वास्थ्य अधिकारीहरुले शुक्रबार संघर्षविराम भंग भएयता इजरेली क्षेप्यास्त्र आक्रमणमा दुईसय प्यालेस्टिनीको ज्यान गएको बताएका छन्।

हराइरहेका एक जना इजरेली सैनिकको खोजी जारी रहँदा इजरेल र प्यालेस्टिनी लडाकुहरुबीच संघर्ष भइरहेका विवरणहरु आएका छन्।

इजरेली आक्रमण रफाहमा बढी केन्द्रित रहेको बताइएको छ।

रफाह त्यही स्थान हो जहाँबाट इजरेली सैनिक हदर गोल्डिन हराएका थिए।

प्यालेस्टिनी अधिकारीहरुले रफाहमा शनिबारमात्रै ५५ जनाको ज्यान गएको बताएका छन्।

श्रृखंलाबद्ध

इजरेलमाथि श्रृखंलाबद्ध रकेट आक्रमण पनि भइरहेको जनाइएको छ।

पछिल्लोपटक भड्किएको यो द्वन्द्वमा १६ सयभन्दा बढी प्यालेस्टिनी र ६५ जना इजरेलीको ज्यान गइसकेको बताइएको छ।

शुक्रबार बिहानबाट ७२ घण्टे संघर्षविराम सुरु गर्ने सहमति भएपनि केही घण्टापछि त्यो भंग भएको थियो।

तर द्वन्द्व अन्त्यको प्रयासमा इजिप्टको पहलमा कायरोमा इजरेल र प्यालेस्टिनी पक्षबीच वार्ताको तयारी भइरहेको छ।

प्यालेस्टिनी टोली शनिबार कायरो पुग्ने बताइएपनि इजरेलले आफ्नो टोली पठाउनेबारे यकीन भइसकेको छैन।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले उनको देशको यो प्रयास गाजा स्ट्रिपमा जारी पछिल्लो संघर्ष अन्त्य गर्ने राम्रो अवसर भएको टिप्पणी गरेका छन्।