पहिरोले थुनिएको सुनकोशी खोल्ने तयारी

  • 2 अगस्ट 2014
सुनकोशीमा पहिरो तस्वीर कपीराइट Kapil Dhital
Image caption सुनकोशी नदीमा पहिरो गएर थुनिएपछि त्यसलाई खुलाउने प्रयास भैरहेको अधिकारीहरुले बताएका छन्। (तस्वीर सौजन्य: कपील धिताल, सिन्धुपाल्चोक)

विहान सवेरै गएको ठूलो पहिरोले सिन्धुपाल्चोकस्थित सुनकोशी नदीको वहाव थुनिदिएको छ।

पहिरोले कयौं घरहरु पनि पुरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता गणेश केसीका अनुसार आठवटा शव फेला परेका छन्।

प्रारम्भिक अनुमान अनुसार एकसयजना जति सम्पर्क बाहिर रहेका छन् भने ६० देखि ७० वटासम्म घरहरु पुरिएका छन्।

मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।

नदी नै थुनिएपछि छेउछाउका वस्तीका सयौं मानिसहरु घर छाडेर सुरक्षित स्थानको खोजीमा नजिकको अग्लास्थानहरु तर्फ गैरहेका बताइएको छ। उद्धार

नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेनाका जवानहरु उद्धारमा खटाइएका छन्।

तस्वीर कपीराइट kapil dhital
Image caption नदी थुनिएपछि सानिमा जलविद्युत परियोजनाको भवन डुबानमा परेको छ। (तस्वीर सौजन्य: कपील धिताल, सिन्धुपाल्चोक)

थुनिएको नदी फुटेर ठूलो क्षति हुनसक्ने डरले आफूहरु चिन्तीत रहेको स्थानीयहरुले बताएका छन्।

सिन्धुपाल्चोकको राम्चे गाविस वडा नं ५ स्थित जुरेमा गएको पहिरोले नदी थुनिएकाले पानीको सतह बढ्दै गएको बताइएको छ।

नदीको सतह १३० मीटरभन्दा माथि पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सेनाले विष्फोट गराएर पानी खोल्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्।

प्रधानमन्त्री सुशील कोइरालाले पानीलाई सहज र सुरक्षित निकास दिएर जनधन र भौतिक संरचना जोगाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन्।

त्यसबाट दुई दर्जनजति घरहरु डुबानमा पार्नुका साथै राजमार्ग समेत अवरुद्ध भएको बताइएको छ।