‘संविधान बने विश्वसामू नेपाल उदाहरणीय’

  • 3 अगस्ट 2014
modi तस्वीर कपीराइट AFP
Image caption प्रधानमन्त्री सुशील कोइराला स्वयम मोदीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए

नेपालको संसदमा ऐतिहासिक सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संविधान जारी गरेर नेपालले विश्वलाई हिंसा त्यागी शान्तिपूर्ण बाटो रोज्नुपर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

संविधानसभाको समेत काम गर्दै आएको संसदमा बोल्दै उनले एक सार्वभौम नेपालले हिमालयको उचाई जतिको प्रगति गरेको हेर्न चाहेको बताए।

नेपाली मामिलामा हस्तक्षेप गर्ने मनसाय नरहेको भन्दै उनले विकासमा साझेदार हुन चाहेको उल्लेख गरे।

मोदी ‘जादु’

नेपालको सार्वभौमसत्ताप्रतिको सम्मान तथा बुद्ध नेपालमा जन्मिएको भन्ने अभिव्यक्ति पटक-पटक दिएका मोदीले आफ्नो सम्बोधनको प्रारम्भिक भाग नेपालीमै गरेपछि सुरुमै धेरैको मन जितेका थिए।

जनताका प्रतिनिधिले संविधान लेख्न पाउनु सौभाग्यको विषय भएको भन्दै उनले नेपालको संविधानसभाले जारी गर्ने नयाँ संविधानले सबै नेपाली जनताको चाहनालाई समेट्ने विश्वास व्यक्त गरे।

साथै नेपालको अभ्यास विश्वकै निम्ति उदाहरणीय हुनसक्ने उनले उल्लेख गरे।

उनले भने,“यदि तपाईहरुको प्रयोग सफल रह्यो भने यो बुद्धको भूमिबाट विश्वलाई हिंसाबाट मुक्तिको नयाँ मार्ग दिनेछ। मैले तपाईहरुको संविधानमा त्यस्तो ताकत रहेको देखिरहेको छु।”

समर्थन

हिन्दुवादी नेताका रुपमा चिनिने मोदीले नेपालको धर्मनिरपेक्षताबारे केही उल्लेख नगरेपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रोजेकोमा समर्थन जनाए।

उनले नेपालको प्रगति देख्ने उत्कट इच्छा रहेको जनाउँदै भने, “यो सार्वभौम राष्ट्र नेपालले हिमालयहरु जतिको उचाई प्राप्त गरोस्। अनि पूरै विश्व नेपाललाई हेरेर गौरवान्वित होउन्। यस्तो नेपाल हेर्ने हाम्रो इच्छा छ।”

त्यस्ता प्रगतिका निम्ति नेपालले विकासमा ध्यान दिनुपर्ने आफ्नो सुझावलाई व्यक्त गर्ने क्रममा उनले नेपाली जलस्रोतको विषय यसरी उठाए, “नेपाल पानीको शक्तिमा यति धनी छ कि उसले बिजुलीको माध्यमबाट आजपनि हिन्दूस्तानको अँधेरो हटाइदिन सक्छ। र, हामी बिजुली सित्तैमा होइन किन्न चाहन्छौ। र, हामी तपाईको पानी पनि लिएर जान चाहँदैनौं।”

नेपालको संसदलाई संबोधन गर्ने पहिलो विदेशी सरकार प्रमुख बन्न पुगेका मोदीले आफ्नो संबोधनले सांसदहरुलाई मन्त्रमुग्ध पारेको जस्तो देखिएको थियो।

उनको संबोधनको प्रशंसा संसदमा मात्र नभई सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरमा पनि भएको देखियो।

विश्लेषकहरु भन्छन्, संसदमा गरेको सम्बोधनमार्फत नेपालीको मन जित्ने उनको कदम सफल देखिएको छ।

सहमति

भारतले नेपाललाई १ अर्ब अमेरिकी डलर अर्थात १ खर्ब नेपाली रुपैयांको सहुलियत दरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ।

त्यस्तो घोषणाका साथै लामो समययता थाती रहेको पञ्चेश्वर आयोजनाअघि बढाउने लगायतका महत्वपूर्ण सम्झौतामा पनि नेपाल र भारतका अधिकारीहरुबीच हस्ताक्षर भएको छ।

उक्त रकम हाल भारतले उपलब्ध गराइरहेको २५ करोड अमेरिकी डलरको सहुलियत दरको ऋणबाहेकको भएको बताइएको छ।

उक्त ऋण नेपाललाई निकै न्यून ब्याजदरमा उपलब्ध हुनेछ।

नेपाल र भारतका प्रधानमन्त्री नेतृत्वका टोलीहरुबीच आइतबार भएको द्धिपक्षीय वार्तामा प्रतिवद्धता जनाइएको उक्त विषय भारतीय प्रधानमन्त्री मोदीले लगत्तै भएको आफ्नो संसद सम्बोधनका क्रममा घोषणा गरेका थिए।

उनले भने, “भारतले नेपाललाई १० हजार करोड नेपाली रुपैयां सहुलियत दरको ऋण सहायता दिने निर्णय हामीले गरेका छौं। हामी यो सुनिश्तित गर्नेछौ कि यो सहायता नेपालका प्राथमिकतामा खर्च हुनेछन्। तपाईहरु यो रकम जलविद्युतमा, पूर्वाधारमा खर्च गर्नुहोस्।”

विद्युत

लामोसमयदेखि अड्किएको पञ्चेश्वर आयोजनालाई अघि बढाउन आवश्यक पर्ने प्राधिकरणको क्षेत्राधिकार एवम् कार्यविवरणसम्बन्धी सम्झौतासहितका तीन सम्झौतापत्रमा दुई पक्षले हस्ताक्षर गरेका छन्।

प्राधिकरणले एक वर्षभित्र पञ्चेश्वर सुरु गर्ने गरी विस्तृत योजना प्रतिवेदन डीपीआर तयार पार्ने बताइएको छ।

द्धिपक्षीय वार्तामा पछिल्लो समय विवादको केन्द्रमा रहेको उर्जा व्यापार सम्झौताले पनि प्रवेश पाएको थियो।

वार्तामा सहभागी अर्थमन्त्री रामशरण महतका अनुसार नेपालले ४५ दिनभित्र उक्त सम्झौताका साथै माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता पीडीए पनि टुंग्याउने जानकारी दिएको थियो।

नयां उचाइ

उक्त वार्ताका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीहरुले द्धिपक्षीय सम्बन्ध र सहकार्यलाई नयां उचाइमा पुर्याउन मिलेर काम गर्ने धारणा राखेका थिए, जसको झल्को मोदीले लगत्तै भएको आफ्नो संसद सम्बोधनमा पनि दिए।

काठमान्डुका सडकमा निस्किएर नेपाली सर्वसाधारणलाई अभिवादन गर्दै हात मिलाउने विदेशी सरकारप्रमुखहरुको विरल सूचीमा पनि मोदी थपिएका छन्।

आफूले शिक्षादीक्षाको व्यवस्था गरिदिएका एक जना नेपाली युवकलाई उनको परिवारसंग मिलाएर आफ्नो भ्रमणको पहिलो दिन थालेका उनले नेपाली समकक्षीले दिएको रात्री भोजमा सरिक भएर दिनको अन्त्य गरेका थिए।