युद्धविराम उल्लंघनप्रति आरोप प्रत्यारोप

  • 4 अगस्ट 2014
तस्वीर कपीराइट REUTERS
Image caption १ महिनायता भएको द्वन्द्वमा परि अहिलेसम्म दुवै पक्षका गरि १९०० मानिसहरुको ज्यान गएको छ।

गाजामा गरिएको सात घण्टे मानवीय युद्धविरामलाई उल्लंघन गरेको भन्दै इजरेल तथा प्यालेष्टाइनले एक अर्काप्रति आरोप, प्रत्यारोप गरेका छन्।

इजरेलले उक्त युद्धविराम एकपक्षीय रुपमा गाजाका केही निश्चित क्षेत्रहरुमा लागू हुने घोषणा गरेको थियो।

प्यालेष्टिनीहरुले भनेका छन्, उक्त युद्धविराम प्रारम्भ भएपछिको अवधिमा इजरेलले उत्तरी गाजास्थित एक शरणार्थी शिविरमा गरेको बम हमलामा परी एक ८ वर्षीया बालिका मारिएकी छन् भने बीसजना घाइते भएका छन्।

फ्रान्सले इजरेलका पछिल्ला कदमहरुको कडा आलोचना गर्दै इजरेली सेनाले आम नरसंहार गरेको उल्लेख गरेको छ।

इजरेलले भनेको छ, विद्रोहीहरुले थप रकेटहरु इजरेलतर्फ प्रहार गरेका छन्।

हमला

जेरुसलेममा एउटा एक्सकाभेटर बसमा एक्कासी ठोक्किन आइपुग्दा एक इजरेलीको ज्यान गएको घटनालाई इजरेल प्रहरीले आतंकवादी हमला भनेको छ।

गाजामा रहेको राष्ट्रसंघ सञ्चालित एक विद्यालय नजिकै इजरेलले हवाई हमला गरेपछि संयुक्त राज्य अमेरिका र राष्ट्रसंघले उसको कटु आलोचना गरेको भोलिपल्ट इजरेलको युद्धविराम घोषणा गरेको हो।

उक्त हमलामा दशजनाको ज्यान गएको प्यालेष्टाइनीहरुको भनाइ छ।

इजरेली सेनाले चाहिं उक्त विद्यालय नजिकै रहेका भनिएका तीन जिहादी विद्रोहीलाई उसले निशानामा पारेको बताएको छ।

यसअघि इजरेल डिफेन्स फोर्सले गाजामा रहेका भनिएका सुरुङ्गमार्गहरु ध्वस्त पार्ने उद्देश्य पूर्ति हुनै लागेको भन्दै गाजाबाट अब आफ्ना केही सेना फिर्ता गर्न थालेको बताएको थियो।

आलोचना

गाजाका स्वास्थ अधिकारीहरुले भनेका छन्, चार हप्ता अघि द्वन्द्व शुरु भएयता अधिकांश गैरसैनिकहरुसहित १,८०० प्यालेष्टिनीहरुको ज्यान गएको छ भने ९ हजारभन्दा बढी घाइते भएका छन्।

हालसम्म दुई जना गैरसैनिक सहित ६६ इजरेलीहरु मारिएका छन्।

एक थाई नागरिककोपनि उक्त द्वन्द्वमा परी ज्यान गएको छ।

यसबीच फ्रान्सले एक असामान्य ढंगले इजरेलले गाजामा प्रदर्शन गरेको कारवाहीको कडा आलोचना गरेको छ।

अस्वीकार

फ्रान्सेली विदेशमन्त्री लराँ फाब्युसले इजरेली सेनाले आम नरसंहार गरेको उललेख गरेका छन्।

उनले फ्रान्स र इजरेलबीचको मित्रता पुरानो भएपनि अनि इजरेलसंग आफ्नो सुरक्षा गर्ने अधिकार हुँदाहुँदैपनि गाजामा भएका गैरसैनिक तथा बालबालिकाको हत्यालाई मनासिब मान्न नसकिने बताए।

उनले भने, “द्वन्द्वको गहन जिम्मेवारी विद्रोही हमासको काँधमा रहेको छ।”

तर त्यसो भन्दैमा राष्ट्रसंघीय महासचिवले अपराध भनेर संज्ञा दिएका कारवाही गरेकोप्रति इजरेललाई समर्थन गर्न नसकिने उनले बताए।