विपद पूर्व-सूचना प्रणालीमा जोड

  • 6 अगस्ट 2014
तस्वीर कपीराइट APF Nepal
Image caption सिन्धुपाल्चोकमा सुनकोशी नदीमा खसेको पहिरोको कारण गाउँ नै पुरिएको बताइन्छ

बाढी पहिरोको उच्च जोखिममा भएका क्षेत्रहरुमा सरकारले विपदको पूर्व सूचना दिने संयन्त्र स्थापना गर्नुपर्ने विज्ञहरुले बताएका छन्।

विपदको जानकारी दिने संयन्त्रको निर्माणले बाढी पहिरोले बर्षेनी हुने गरेको मानवीय क्षती कम गर्न सकिने उनीहरुको भनाई छ।

हालै सिन्धुपाल्चोकमा गएको भिषण पहिरोमा धनजनको ठुलो क्षति भएपछि विज्ञहरुको यस्तो धारणा आएको हो।

माङ्खा गाउँमा शनिबार गएको पहिरोमा परेकाहरु मध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने झन्डै सवा सय जना हराईरहेका छन्।

नक्साङ्कन

कूल क्षेत्रफलको लगभग ६८ प्रतिशत पहाड रहेको नेपालको कतिपय भूभाग पहिरोको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेको विज्ञहरुले बताएका छन्।

त्यस्ता पहाड र त्यस आसपासका नदी किनारमा बस्ने बासिन्दाहरु सुरक्षित नरहेको उनीहरुको भनाइ छ।

जोखिमयुक्त स्थानहरुको पहिचान गरी त्यहाँ खतराको सूचना दिने प्रविधि राखिए मानवीय क्षति कम गर्न सकिने खानी तथा भूगर्भ विभागको भू विज्ञान उप-महाशाखाका प्रमुख डाक्टर सोमनाथ सापकोटाले बताए ।

उनले भने, “जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन गर्न जरुरी छ, विपत्ति आउनु पूर्व सावधान गर्ने साइरन भएको भए धनको नभए पनि जनको क्षतिलाई कम गर्न सकिन्थ्यो। ”

अपूर्ण

१७ प्रतिशत हिमाल रहेको नेपालका कतिपय स्थानहरु हिमपहिरो र हिमतालहरुका कारण पनि जोखिममा रहेको बताइन्छ।

हिमालमा हुने उथलपुथलले झन धेरै परसम्म असर पार्ने हुनाले यसको अध्ययन हुनु झनै बढी आवश्यक रहेको विज्ञहरुको धारणा छ।

विपद व्यवस्थापन सम्बन्धी अभियानमा सक्रिय अमोदमणि दीक्षित अध्ययन नभए पनि प्राकृतिक प्रकोप आएमा त्यसले कहाँ कहाँ र कति क्षति पुर्याउन सक्छ भन्ने हिसाव समेत सरकारले नराखेको बताउँछन्।

तर सरकारी अधिकारीहरु मेचीदेखि महाकाली सम्म नै जोखिमको अध्ययन गर्न सुरु गरिएको जवाफ दिन्छन्।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख यादव कोइरालाले भने, “केही ठाउँहरुको नक्साङ्कन गर्ने काम गरी सकिएको छ, तर सबै ठाउँ भ्याइ नसकिएकाले पूर्णता दिन सकिएको छैन।”

केही जोखिमयुक्त नदी र हिमतालहरुमा भने विपद आउने अवस्थामा पूर्व-सूचना दिने प्रणाली स्थापना गरिएको गृहमन्त्रालयले जनाएको छ।