फौजहरु गाजाबाट फिर्ता बोलाइसक्यौ: इजरेल

  • 5 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption गाजा क्षेत्रमा जारी करिब एक महिना देखीको उक्त संघर्षको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ

इजरेलले प्यालेस्टीनी समुह हमाससँग तीन दिने संघर्षविराम शुरु भए लगत्तै सबै इजरेली फौजहरु गाजाबाट फिर्ता बोलाएको बताएको छ।

इजरेली सेनाका प्रवक्ताले गाजाबाट इजरेल प्रवेश गर्ने सबै सुरुङहरु नष्ट गर्ने आफ्नो लक्ष्य पुरा भएको बताएका छन्।

द्वन्द्वको दिगो समाधानको निम्ति दुबै पक्षबीच वार्ता हुने अपेक्षा गरेको इजिप्टको पहलमा पछिल्लो संघर्षबिराम भएको हो।

इजिप्टका मध्यस्तकर्ताहरुको सक्रियतामा भएको ७२ घन्टे संघर्षविराम स्थानीय समय अनुसार विहान आठ बजे देखि लागू भएको हो।

जटिल

गाजास्थित अधिकारीहरुको भनाइमा चार हप्ता लामो द्वन्द्वमा १८ सय प्यालेस्टीनीहरुको ज्यान गएको छ।

सो अवधीमा ६७ जना इजरेलीहरुको पनि ज्यान गएको छ।

संयुक्त राष्ट्रसंघको अनुमानमा गाजामा मारिएकाहरु मध्ये ७५ प्रतिशत गैर सैनिकहरु थिए।

ती मध्ये ४०० जना केटाकेटी थिए।

इजरेली सेनाका प्रवक्ता लेफ्टीनेन्ट जनरल पिटर लेर्नरले गाजाबाट फिर्ता गरिएका इजरेली फौजलाई गाजा स्ट्रिप बाहिर रक्षात्मक अवस्थामा राखिने बताए।

उनले भने, “अझै पनि त्यहाँ सुरुङहरु हुन सक्छन्। त्यसैले हामीले सीमा क्षेत्रमा हाम्रा फौजहरुलाई समुदायहरुलाई जोगाउनको निम्ति तम्तयार अवस्थामा राखेका छौ।”

अपेक्षा

संघर्ष विराम शुरु हुनु अघि जेरुसलेम र टेल अविवमा हवाइ आक्रमण भएको संकेट दिंदै साइरन बजाइएको थियो।

त्यो बेला हमासले मध्य इजरेलमा एकपछि अर्को रकेट हमला गरेको थियो।

जुलाई आठ तारिखमा इजरेलले थालेको सैन्य कारवाहीलाई अपरेसन प्रोटेक्टिव एज नाम दिइको थियो।

सैन्य फिर्ती अघि इजरेल डिफेन्स फोर्सले एक विज्ञप्ती जारी गर्दै कारवाहीका क्रममा ३२ वटा सुरुङ नष्ट गरिएको जमिनमा ३००० मिसाइल ध्वस्त पारिएको र उसकै शब्दमा ९०० आतंकवादी मारिएको जनाएको छ।

उसले इजरेल तर्फ ३३ सय रकेट हमला भएको र हमास सँग अझै तीन हजार रकेट बाँकी रहेको बताएको छ।

संघर्ष विरामपछि इजरेलले एक वार्ता टोली कायरो पठाउने अपेक्षा गरिएको छ।

प्यालेस्टीनी टोली त्यहाँ पुगिसकेको छ।