कोशी आसपासकालाई आश्वस्त पार्ने प्रयास

  • 5 अगस्ट 2014
Image caption कोशीको पछिल्लो अवस्थाबारे बुझ्न भारतको बिहारबाट समेत मानिसहरु ब्यारेजमा पुगिरहेका छन्

सिन्धुपाल्चोक माङखा गाविसको जुरेमा केही दिनअघि गएको पहिरोले भएको ठूलो जनधनको क्षतिसंगै सुनकोशी नदी थुनिँदा त्यो भन्दा तल्लो भेगमा पर्ने कोशी आसपासका क्षेत्रमा फैलिएको बाढीको त्रास क्रमश: कम हुदै गएको सरकारी अधिकारीहरुले जनाएका छन्।

थुनिएको सुनकोशीको पानी बग्दै गएको र कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएकाले यस क्षेत्रमा तत्काल कुनै ठूलो खतरा नरहेको पूर्वाञ्चलस्थित क्षेत्रीय प्रशासनको भनाइ छ।

बाढीको त्रासले विस्थापित कतिपय मानिसहरु क्रमश: घर फर्किन थालेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन्।

तर त्रासका कारण भारतको बिहारबाट समेत मानिसहरु सप्तकोशीको अवस्था बुझ्न कोशी व्यारेजसम्म पुगिरहेका छन्।

संकट

गत शनिबार पहिरोले सुनकोशी नदी थुनिँदा सुनकोशी र सो नदी मिसिएको सप्तकोशी आसपासका सुनसरी, सप्तरी, उदयपुर, धनकुटा, भोजपुर र खोटांङ्ग जिल्लाका नदी किनारका क्षेत्रलाई सरकारले संकटग्रस्त घोषणा गरेको थियो।

भारतको बिहार राज्यका सुपौल, अररिया, मधेपुरा लगायतका क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन भारत सरकारले आग्रह गरेको थियो।

Image caption सन् २००८ मा कोशीको तटबन्ध भत्किदाँ धनजनको ठूलो क्षति भएको थियो

झण्डै ६ बर्ष पहिले सुनसरीको पूर्वी कुशाहामा कोशीको बाँध फुटेर नेपालको सुनसरी तथा सप्तरी अनि बिहारका केही जिल्लामा भएको ठूलो जनधनको क्षतिको त्रासदी उनीहरुले अझै बिर्सेका छैनन्।

त्यस्तै नियति फेरि भोग्न नपरोस् भनेर सो क्षेत्रका वासिन्दा अहिले घर छोडेर सुनसरीको रामनगर, भुटाहा, इनरुवा, कोशी ब्यारेज र सप्तरीको हनुमाननगर लगायतका सुरक्षित क्षेत्रमा बस्न थालेका थिए।

त्यसरी आउने मध्ये भारतको बिहार राज्यका मानिसहरु धेरै रहेको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन्।

फर्कँदै

कोशी व्यारेजस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खगेश्वर खतिवडाका अनुसार पछिल्ला दिनमा कोशीमा बाढीको जोखिम कम हुदै गएको आँकलन गरिएपछि उनीहरु क्रमश: घर फर्किन थालेका छन्।

बर्षा कम हुँदै गएको, थुनिएको सुनकोशीको पानी पनि विस्तारै बग्न थालेको र कोशीका ५६ वटै ढोका खोलिएकाले तत्काल ठूलो खतरा नरहेको पूर्व क्षेत्रका क्षेत्रीय प्रशासक महाश्रम शर्माले बताए।

सुनकोशीमा बाढी आयो भने पनि देशको पूर्वी भागमा पुग्न केही समय लाग्ने भएकाले सावधानी अपनाउन सकिने अधिकारीहरु बताउँछन्।