‘पहिरोमा वेपत्ता हुनेहरु जीवितै भेटिने सम्भावना न्यून’

  • 5 अगस्ट 2014
सुनकोशी पहिरो तस्वीर कपीराइट Dhurba Dangal
Image caption शनिबार बिहान आएको पहिरोमा परी थुप्रै घरहरु पुरिएको र मानिसहरु हराएका थिए

सिन्धुपाल्चोकको माङ्खा गाउँमा शनिबार बिहान गएको पहिरोमा परेकाहरुमध्ये हालसम्म ३३ जनाको शव भेटिएपछि अब ज्यान गुमाउनेहरुको संख्या १५० भन्दा बढी पुगेको अनुमान अधिकारीहरुले गरेका छन्।

खोजी कार्य तथा राहत वितरणमा जुटेको स्थानिय प्रशासनका अधिकारीहरु अब हराइरहेकाहरु जीवितै भेटिन सकिने सम्भावना हराएर गएको बताउन थालेका छन्।

“धेरै वेपत्ताहरुका आफन्तले कुश बालेर काजकिरिया गर्न शुरु गर्नुभएको कारणले उनीहरुलाई पनि अब मृतकनै मानेर हामीले राहत र किरिया खर्च उपलब्ध गराउन थालेका छौं। त्यसैले अब लगभग लगभग मृतकको संख्या १५६ पुगेको छ,” सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बीबीसीलाई बताए।

राहत

सो घटनाबाट करीब ४२५ जना विस्थापित भएका छन्।

संसारभरका नेपालीहरुले चिन्ता प्रकट गरिरहँदा पराजुलीले राहत वितरण निकै तीव्रताका साथ गरिएको बताएका छन्।

“मंगलबार हामीले नौ लाख ६० हजारको राहत अनि ८० हजार बराबरको चामल वितरण गर्यौं। नेपाल रेडक्रस सोसाइटी स्थानिय उद्योग वाणिज्य संघ तथा अन्य संघसंस्थाले उपलब्ध गराएका सामाग्री तथा बालबालिकालाई उपयुक्त हुने सामाग्रीहरु वितरण गरेका छौं,” उनले भने।

सोही पहिरोका कारण राजमार्गसमेत अवरुद्ध भएको हुँदा चिनियाँ नाकाबाट नेपालको तातोपानीतर्फ आएका दर्जनौं स्वदेशी तथा विदेशीहरु अड्किएका छन्।

मौसम थप विग्रिएको अनि हेलिकप्टर ल्याण्ड गर्ने ठाउँमापनि समस्या उत्पन्न भएका कारण उनीहरु तत्काल त्यहाँबाट गइहाल्न नसकेको बताइएको छ।

उनीहरुसंगपनि भेटेको तथा लगातार सम्पर्कमा रहेको पराजुलीले बताए।

निकासको प्रयास

यसबीच पहिरोले बगाएर ल्याएको चट्टान र माटोले बनाएको बाँधमार्फत नियन्त्रित ढंगबाट पानीको निकास बढाउनका निम्ति त्यहाँ केही ड्रिलिंग अनि विष्फोट गराइएको थियो।

तर अझैपनि निकासको स्तर सन्तोषजनक हुन नसकेको गृह मन्त्रालयका विपद व्यवस्थापन महाशाखाका प्रमुख यादव कोइरालाले बताएका छन्।

“पानीको बहाव घटाउने कोशिश भइरहेको छ। त्यो ताल हट्ने गरी पानीको निकास गराइनुपर्ने हो। तर अहिले केवल २०४ क्यूसेक पानीको बहाव त्यहाँमुनिबाट भइरहेको छ। माथि सुनकोशीको बहावचाहीं १८० क्यूसेक जति छ,” कोइरालाको भनाई थियो।

उनको हिसाब अनुसार उक्त बाँधले निर्माण गरेको तालको सतह उल्लेखनीय घटाउन अझै थप बहाव आवश्यक हुन्छ।

त्यसकारण बाँध फुटेर तल्लो तटीय क्षेत्रमा बाढी निम्तिने खतराको स्तर कम हुँदै गएपनि निमिट्यान्न भइनसकेको उनले जनाए।

हाल पानीको निकास कसरी छिटो गराउने भन्ने बारे सरकारले नेपाली तथा भारतीय विशेषज्ञहरुको पनि सरसल्लाह लिइरहेको अधिकारीहरुको भनाई छ।

ती विज्ञहरुले पनि हाल भइरहेका कार्य नै ठिक भएको भनेको कोइरालाले बताए।