एमालेका सांसदहरुद्वारा संसदमा बवण्डर

  • 7 अगस्ट 2014
तस्वीर कपीराइट bbc
Image caption सांसदहरुको मागपछि घटनाबारे सदनलाई जानकारी गराउन सभामुख सुवास नेम्वाङले निर्देशन दिएका थिए।

राजनीतिक संरक्षणमा कुख्यात डन बनेको भनिएका दिनेश अधिकारी 'चरी' को प्रहरीले जानीजानी हत्या गरेको आरोप लगाउँदै सरकारको एक घटक नेकपा एमालेकै सांसदहरुले संसदमा हंगामा मच्चाएका छन्।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका आफ्नै पार्टीका उपाध्यक्ष वामदेव गौतमको समेत आलोचना गर्दै उनीहरुले छानबिनको माग गरेका छन्।

संसदमा उनीहरुले आवाज उठाएपछि सभामुखले उक्त घटनाबारे शुक्रबार सदनलाई जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्।

जवाफी कारवाहीमा बुधबार धादिङको भीमढुंगा-६ मा दिनेश अधिकारी 'चरी' मारिएको प्रहरीले बताएपनि नेकपा एमालेका केही सांसदहरु त्यो मान्न तयार छैनन।

आलोचना

व्यवस्थापिका संसदको बिहिबारको बैठकमा सभामुख सुवास नेम्वाङसँग विशेष समय लिएर बोल्दै उनीहरुले प्रहरी प्रशासनको चर्को आलोचना गरे।

प्रहरीले सुनियोजित रुपमा अधिकारीको हत्या गरेको उनीहरुले आरोप लगाए।

तिनैमध्येका एक धादिङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद गुरु बुर्लाकोटीले भने, ''सदनले निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्छ। र घटनामा संलग्न जो छन्, अपराध अनुसन्धान महाशाखाका प्रमुख पुष्कर कार्की लगायतकालाई निलम्बन गरिनुपर्छ। त्यसपछि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने माग हाम्रो छ।''

सभासदहरुले चरी प्रकरणलाई संसदमा चर्कोरुपमा उठाएपछि सभामुख नेम्वाङले उक्त घटनाबारे सदनलाई जानकारी गराउन गृह प्रशासनको बागडोर सम्हालेका एमालेकै उपाध्यक्ष वामदेव गौतमलाई निर्देशन दिए।

छानबिन

आफूले दिएको निर्देशनबारे नेम्वाङले बीबीसीलाई भने, ''सत्तारुढ संगसंगै अन्य सभासदहरुले पनि यो विषय सदनमा उठाएका थिए। उनीहरुले त्यसबारे भएको के हो, त्यसबारे सरकारले के गरिरहेको छ, के छानबिन भईरहेको छ भन्ने बारेमा प्रश्न उठाएका थिए। त्यसैले यही बारेमा सरकारलाई शुक्रबारको बैठकमा यथार्थ कुराको जानकारी गराउनु भनेर निर्देश गरिएको छ।''

उक्त घटनाबारे समय खर्चिंदा संसदमा बजेट विनियोजनमाथिको छलफल केहीबेरका लागि प्रभावित बन्न पुगेको थियो।

चरी मारिएको घटनालाई लिएर एमाले सांसदहरुले संसदमा आवाज उठाएकोमा सामाजिक सञ्जालहरुमा चर्को विरोध भएको छ।

एकजनाले ट्विटरमा लेखेका छन, "नेपालगन्जमा बसभित्र भएको सामूहिक बलात्कारबारे संसदमा त्यति आवाज उठेन जति चरी हत्याको। निर्दोषभन्दा अपराधी, जीवितभन्दा मृतकको बढी मूल्य छ यहाँ।"