‘पहिरो पीडितलाई पुनर्वासको तयारी’

  • 8 अगस्ट 2014
तस्वीर कपीराइट APF Nepal
Image caption पहिरो पिडितलाई उद्धार र राहतको काम जारी रहेको नेपाल सरकारले जनाएको छ

सिन्धुपाल्चोकमा गत शनिवार गएको पहिरोका कारण विस्थापित भएकालाई पुनर्वासको र ताल फुटेर क्षति हुन गएमा तल्लो तटमा रहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्ने गरी तयारी गरीरहेको अधिकारीहरुले बताएका छन्।

नेपाली सेनाले भने उद्धारको लागि थप जनशक्ति परिचालन गरी पहिरोले बनेको कृतिम तालको पानी सुरक्षित प्रवाह गराई तल्लो तटलाई जोगाउने प्रयासमा लागि रहेको जनाएको छ।

राहत

आफ्ना सहोदर दाजु र भाईका परिवारका ११ जना सदस्यको पहिरोमा परेर मृत्यू भएपछि सरकारले किरीया खर्च बापत प्रति व्यक्ति ४० हजार रुपैंयाको दरले उपलब्ध गराएको रकम बिहिवार बुझेको मिनबहादुर खत्रीले बताए।

उनले भने, “मेरो घर र अन्न पहिरोले बगायो तर मेरो परिवारको मान्छे चाहिं पहिरोमा परेनन्। माथिको घरमा बसेको बेला पहिरो आएकोले बाँचियो। ठुल्दाईको १० जनाको परिवार र कान्छो भाइको एकजना गरेर मेरा एघारजना आफन्त मरे। राहत स्वरुप भाँडा, रासन-पानी र केहि कपडा पाएको छु।”

उनी झैं प्रभावित र विस्थापितहरुलाई सरकारले खाद्यान्न, लताकपडा र वासस्थानको व्यवस्था गरेको अधिकारीहरुको भनाई छ।

विस्थापित हुनेहरुलाई पुनर्वास गराउनको लागि सरकारसँग अनुरोध गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलले बताए।

पुनर्वास

उनले नदीको दुई सय मिटर आसपासलाई जोखिमयुक्त क्षेत्र घोषणा गरी घर खाली गराएको र कतिपय प्रभावितहरु राहत सामग्री लिएर आफन्त वा अन्य वैकल्पिक ठाउँमा सरेको बताए।

उनले भने, “चार सय ७८ जना विस्थापितहरु राहत लिन आउनु भएको छ, यदि बाँध फुटेर नदीको सवै पानी एकै पटक गयो भने तल्लो तटका नौ सय ४३ घर प्रभावित हुन्छन्। चार हजार नौ सय ४७ व्यक्तिलाई हामीले अर्को ठाउँमा पुनर्वास गराउनु पर्छ।”

उद्धारको कामसँगै नेपाली सेनाले भने पहिरोले बनेको तालको पानीलाई सुरक्षित निकास गराउन थप जनशक्ति पठाएको र झण्डै आधा दर्जन विष्फोट गराएको जनाएको छ।

निकास

नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोख्रेलले भने, “आवश्यक थप विष्फोटक पदार्थ पनि पठाइसकेका छौं। पानी नियन्त्रित रुपमा बाहिर निकाल्न बाँधलाई गहिरो र फराकिलो बनाउने काम भइरहेको छ।”

शनिवार गएको पहिरोमा परी १५६ जनाले ज्यान गुमाएको र त्यसमध्ये ३३ जनाको मात्रै शव भेटिएको छ।

मृतकहरुमध्ये विहिबारसम्ममा किरिया खर्च बापत ११९ जनाको रकम सम्बन्धित आफन्तलाई दिइसकेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

पहिरोमा २७ जना घाइते भएको र कतिपय उपचारपछि घर फर्किएको बताइएको छ।