अरनिको राजमार्गको अस्थायी विकल्प खुला

  • 10 अगस्ट 2014
तस्वीर कपीराइट Kapil Dhital

एक साताअघि सिन्धुपाल्चोकमा गएको भीषण पहिरोले सुनकोशी नदीसँगै अरनिको राजमार्ग अबरुद्ध भएपछि ठप्प भएको ढुवानीको काम वैकल्पिक बाटो हुँदै आजदेखि शुरु गरिने भएको छ।

लामोसाँघु र जिरी सडकको सिलढुंगाबाट बैकल्पिक बाटो बनाएर साना गाडीहरुको आवतजावत शुरु गर्ने तयारी भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

सवारी साधन आवागमनलाई पुरानै अवस्थामा पुर्याउन भने पहिरोका कारण बनेको तालको पानी घटनु पर्ने सडक बिभागले जनाएको छ।

स्वीकृति

पहिरोका कारण बनेको ताललाई एक्कासी फुटाउँदा तल्लो तटीय क्षेत्रमा नोक्सानी पुर्याउने भन्दै ताल फुटाउन ढिलाई हुँदा अरनिको राजमार्ग खुल्न सकेको छैन।

जसको अस्थायी बिकल्पका लागि भैरहेको प्रयासले साकार रुप लिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए।

उनले भने, “सिलढुंगाबाट बाह्रबिसे पुर्याउने बाटो तत्कालका लागि मर्मत भैरहेको छ। अब साना गाडीहरुबाट खाद्धवस्तुहरु त्यता लैजान व्यापारीहरुलाई स्वीकृति दिएका छौं।"

तस्वीर कपीराइट Dhurba Dangal
Image caption पहिरो र सुनकोशीमा पानी जमेर हजारौं मानिस विस्थापित भएका छन्

सडक विभागका उपकरणहरुले मोडहरुलाई फराकिलो बनाउने कामहरु गरे पनि सो वैकल्पिक मार्गमा ठुला सवारी साधन आवागमन गर्न नसक्ने उनले बताए।

थप निकाश

बैकल्पिक मार्गबाट आवागमन गरिएपनि सानो सुनकोशीमा भने झोलुङगे पुलको सहारा लिनुपर्ने अवस्था रहने छ।

प्राविधिकहरु सहित ताल बनेकै क्षेत्रमा पुगेका सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले त्यो समस्या अन्त्य गर्न बेलिब्रिज जोडने तयारी भैरहेको बताए।

उनले भने, “डयामको पानी पुरै जानु पर्यो त्यसपछि हामी अहिलेकै बाटो पुनर्स्थापना गर्न सक्छौं। हैन, भने ठुला गाडीका लागि अर्कोपटटी खोल्नु पर्ने हुनसक्छ।"

पहिरोका कारण बनेको तालको पानी घटाउन स्काभेटरलाई हेलिकप्टर मार्फत तालको तल्लो भागमा पुर्याइसकिएको र आजबाट पानीको निकास निकाल्ने काम शुरु गर्ने अधिकारीहरुले बताएका छन्।