फसिरहेका इराकीलाई राहत सामग्री पु-याइँदै

  • 10 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption अमेरिका, ब्रिटेनबाहेक फ्रान्सले पनि फसकेा मानिसहरुलाई आइतबारदेखि मानवीय सहायता पठाउन थालेको छ।

उत्तरी इराकको एक विकट पहाडमा फसिरहेका हजारौं मानिसका लागि अमेरिकी र ब्रिटिश विमानहरुले राहत सामाग्रीहरु खसाल्ने क्रम तीव्र पारिरहेका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एकजना प्रवक्ताका अनुसार हालसम्म करिब ५२ हजार खानाका प्याकेट र हजारौ ग्यालिन पानी झारिसकिएको छ।

यो राहत सामाग्री अमेरिकाले पठाएको तेस्रो खेप हो भने ब्रिटेनको पहिलो।

फ्रान्सले पनि मानवीय सहायता पठाउन लागेको बताइएको छ।

राहत

उग्रवादी समूह इस्लामिक स्टेटको आक्रमण तीव्र बन्दै गएपछि एउटा विकट पहाडमा शरणार्थी बनेका एजिदी भनिने अल्पसंख्यकहरुका लागि पश्चिमा राहत सहयोग केन्द्रीत छ।

यसैबीच अमेरिकी रक्षामन्त्रालयका प्रवक्ता जन कर्बीले विद्रोहीहरुले एजिदी अल्पसंख्यकमाथि आक्रमण गर्न प्रयोग गरेको सशस्त्र सवारी साधनलाई अमेरिकी विमानहरुले नष्ट गरिदिएको बीबीसीलाई बताएका छन्।

इराक संकटप्रति पश्चिमा चासो बाक्लिदैं गइरहेका बेला फ्रान्सका विदेशमन्त्री लोराँ फ्याबिउस् इराक पुगेका छन्।

उनले पछिल्लो सकंट समाधानका लागि बृहत राष्ट्रिय एकताको सरकार आवश्यक रहेकोमा जोड दिए।

अनुरोध

उनीसंगै बोलेका कुर्दिस राष्ट्रपति मसुद बर्जानीले इस्लामिक स्टेटविरुद्ध लड्नका लागि कुर्दहरुलाई हतियार उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरे।

उनले भने, "हामी आतंकवादी संगठनसंग होइन आतंकवादी राज्यसंग लडिरहेका छौं।"

इस्लामिक स्टेट समूहको आक्रमणपछि धार्मिक अल्पसंख्यकहरु सिन्जार शहरको पहाडमा गएर बसिरहेका छन् जहाँ उनीहरुको अवस्था अत्यन्तै दयनीय रहेको बताइएको छ।

इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जामा लिएको विश्वास गरिएको छ जुन भूभागलाई समेटेर उसले बेग्लै इस्लामिक राज्य बनाउने बताउँदै आएको छ।