गाजामा नयाँ संघर्षविराम

  • 11 अगस्ट 2014
Image caption गाजामा द्वन्द अन्त्य हुनुपर्ने माग सहित विश्वभर प्रदर्शनहरु हुदैँ आएका छन्

व्यापक कुटनीतिक दौडधुपपछि इजरेल र हमासबीचको तीन दिने संघर्ष-विराम गाजामा शुरु भएको छ।

पछिल्लो संघर्ष-विरामले दिर्घकालीन सहमतिका लागि वार्ताकारहरुलाई समय उपलब्ध गराउने ठानिएको छ।

अघिल्लो हप्ता इजिप्टले मध्यस्तता गरेको यस्तै प्रकारको ३ दिने संघर्ष-विराम सकिएपछि गाजामा लडाईं शुरु भएको थियो।

जुलाई ८ यता जारी इजरेली सैन्य कार्वाहीमा हाल सम्म २ हजार जनाले ज्यान गुमाइसकेका छन्।

नाटकीय

दुवै पक्षले बहिस्कार गर्ने चेतावनी दिएको एउटा तनावपूर्ण वार्तापछि आश्चर्यजनक रुपमा आइतबार अवेर संघर्षविरामको घोषणा सार्वजनिक भएको थियो।

तस्वीर कपीराइट AFP
Image caption जुलाई सात यता अधिकांश सर्वसाधारणहरु सहित १९ सय जनाले गाजामा ज्यान गुमाएका छन्

एकजना बरिष्ठ इजरेली अधिकारीले इजिप्टको प्रस्तावमा ७२ घण्टे संघर्षविराममा सहमति जनाएको र युद्धविरामको पालना भए सोमबार थप वार्ताका लागि इजरेलले आफ्ना प्रतिनिधि कायरो पठाउने बताए।

हमासका एकजना वार्ताकारले रोर्यटर्स समाचार संस्थालाई इजरेलले विना सर्त गाजाबाट फिर्ता हुन तयार रहेको बताएपछि आफूहरुले सकारात्मक प्रतिक्रिया जनाएको बताएका छन्।

इजिप्टको परराष्ट्र मन्त्रालयले दुवै पक्षलाई अप्रत्यक्ष वार्ता शुरु गर्न र दिर्घकालीन सहमतिको लागि प्रयत्न गर्न आव्हान गरेको छ।

सम्वाददाताहरु भन्छन्, इजरेलले गाजामा निशस्त्रिकरण हुनुपर्नेमा जोड दिनेछ भने हमासले गाजामा इजरेलले लगाउँदै आएको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग जोडदार रुपमा उठाउने देखिन्छ।

साइरन

मध्यराती संघर्षविरामको अवधि शुरु हुनु केही अघिसम्म पनि इजरेली संचारमाध्यमहरुले रकेट आक्रमणको पूर्व सूचना दिने साइरनहरु बजिरहेको जनाएका थिए।

तस्वीर कपीराइट Reuters
Image caption आइतबार साझसम्म पनि इजरेल र हमासले एक अर्कालाई लक्षित गर्दै हमलाहरु गरिरहेका थिए

आइतबार साँझसम्म पनि इजरेलले गाजामा हवाई हमाला जारी राखेको थियो।

तर संघर्षविराम शुरु भए यता दुवै पक्षले हमला गरेका कुनै विवरणहरु आएका छैनन्।

गाजामा मारिएका झन्डै १९ सय प्यालेस्टीनि मध्ये अधिकाशं सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।