इराकमा सरकार गठन गर्न आह्वान

  • 11 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption कामचलाउ प्रधानमन्त्री नुरी अल-मलिकीको भावी कदमलाई चासोपूर्वक हेरिने बताइएको छ

इराकमा जारी राजनीतिक संकटमाझ त्यहाँका राष्ट्रपति फुआद मासौमले संसदका वर्तमान उपसभामुखलाई सरकार गठन गर्नका लागि सोमबार आह्वान गरेका छन्।

यसअघि प्रमुख शिया दलहरुले उपसभामुख हैदर अल-अबादीलाई भावी प्रधानमन्त्री पदका लागि उम्मेदवार घोषणा गरेका थिए।

उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै शियाहरुको गठबन्धन नेशनल एलायन्सले कामचलाउ प्रधानमन्त्री नुरी अल-मलिकीलाई चुनौती दिएको थियो।

आफूले तेस्रो कार्यकाल पनि चाहेको मलिकीले स्पष्ट पारिसकेका थिए।

टेलिभिजन संबोधनमार्फत राष्ट्रपति मासौमले सरकार गठनका लागि आह्वान गरेका हुन्।

सरकार

उनले सरकार गठन गर्न अबादी सफल हुने आशा व्यक्त गर्दै नयाँ सरकारले इराकी जनताको रक्षा गर्ने बताए।

राष्ट्रपतिको आह्वानले मलिकीलाई सार्वजनिक रुपमा बेवास्ता गरेको विश्लेषकहरुको भनाइ छ।

शिया दलहरुले मलिकीको विकल्पमा प्रधानमन्त्री पदका लागि अर्का उम्मेदवारको घोषणा गरेपछि इराक ताजा राजनीतिक भुमरीमा फसेको देखिएको छ।

तेस्रो कार्यकालका लागि पनि उठ्न चाहेको प्रष्ट पारिसकेका मलिकीप्रति वफादार सुरक्षा फौजले आइतबार राती राजधानी बगदादका मुख्य स्थानहरु नियन्त्रणमा लिएका छन्।

देशको दक्षिणी क्षेत्रमा जिहादी लडाकुहरुको विद्रोहबीच मलिकीले राजीनामा गर्नुपर्ने मागको सामना गर्नुपरेको छ।

मलजल

साम्प्रदायिक नीतिमार्फत शिया समुदायका मलिकीले इराकमा जारी संकटलाई मलजल गरेको आलोचकहरु बताउँछन्।

सुन्नी, कुर्द र शिया समुदायले पनि उनलाई राजीनामा गर्न आग्रह गरेका छन्।

तर त्यसको अटेर गरेको जस्तो देखिने गरी आइतबार मलिकीले राष्ट्रपतिले निर्धारित समयभित्र सरकार प्रमुख नियुक्त नगरी संविधान उल्लंघन गरेको आरोप लगाए।

यसअघि सोमबार बिहान अमेरिकी विदेशमन्त्री केरीले राजनीतिक तनाव नबढाउन मलिकीलाई आग्रह गरेका थिए।

उनले राजनीतिक गुटहरुमार्फत बल प्रयोग नगर्न समेत चेतावनी दिए।

अष्ट्रेलिया भ्रमणका क्रममा केरीले दीगो स्थिरता र शान्तिका लागि इराकमा सरकार निर्माण महत्वपूर्ण रहेको र मलिकीले त्यसमा अवरोध नल्याउनेमा आफू विश्वस्त रहेको बताए।