'इराकमा नेपालीहरु सुरक्षित'

  • 12 अगस्ट 2014
तस्वीर कपीराइट Reuters
Image caption सुन्नी विद्रोहीहरुले इराकका विभिन्न क्षेत्रमा पकड जमाउँदै गएपछि त्यहाँ संकट गहिरिँदै गएको छ

इराकमा सरकारी फौज र विद्रोहीहरुबीच संघर्ष जारी रहेपनि त्यहाँ अप्ठ्यारो स्थितिमा अब कोही पनि नेपाली कामदार नरहेको पाइएको त्यहाँ खटिएका एक उच्च सरकारी अधिकारीले बताएका छन्।

इराकमा रहेका नेपालीहरुको अवस्था बुझ्नका लागि त्यहाँ पुगेका ती अधिकारीले समस्या परेकाहरुमध्ये अब पाँच जनालाई मात्र नेपाल फर्काउन बाँकी रहेको बताए।

उनीहरुलाई स्वदेश फिर्तीका लागि सुरक्षित स्थानमा सारिसकिएको उनको भनाई छ।

इराकमा जारी द्वन्दका कारण समस्यामा परेका नेपालीहरुको पहिचान गरी स्वदेश फर्काउन सरकारले करिब एक महिनाअघि अर्जुनकान्त मैनालीलाई विशेष दूतको रुपमा त्यहाँ पठाएको थियो।

उद्धार

आफ्नो बसाइँका क्रममा द्वन्दग्रस्त मोसुल र आसपास क्षेत्रबाट ११ जना र बगदादबाट अन्य दुई जनालाई नेपाल फर्काइ सकिएको मैनालीले बताए।

उनका अनुसार बाँकी पाँच जनालाई उद्धार गरी कुर्दिस्तान प्रान्तको राजधानी अर्बिल पुर्याइसकिएको र केही दिनभित्रै स्वदेश फर्काइने छ।

इराकमा जारी संकटका कारण अब कोही नेपाली जोखिमपूर्ण अवस्थामा रहेको नपाइएको मैनालीले बताए।

उनले थपे, ''उद्धार गरिहाल्नुपर्ने अब बाँकी छैनन्। हामीलाई यो मान्छे कुनै कठिनाईमा द्वन्द क्षेत्रमा हुनुहुन्छ भन्ने जानकारी छैन। द्वन्द क्षेत्रमा म यस्तो ठाउँमा अड्केर बसेको छु, आउन सकेको छैन्, दुःख छ। यहाँबाट निकालिदिनु भनेर भन्ने अब कोही पनि हुनुहुन्न।''

सरकारले नेपाली कामदारहरुलाई इराक जान प्रतिबन्ध लगाएपनि दलालहरुले भारत र खाडीका विभिन्न देश हुँदै इराक पुर्याउने गरेको सरकारी अधिकारीहरु बताउँछन्।

प्रतिबन्ध

रोजगारका लागि जान सरकारले प्रतिबन्ध लगाएको त्यस्ता मुलुकमा नेपालीहरु पुगिरहेको समस्याबारे गम्भीर हुनुपर्ने अधिकारीहरुको भनाई छ।

त्यसबारे मैनालीले भने, ''८/१० हजारको हाराहारीमा मान्छे यहाँ हुनुपर्छ। हामीले बन्द गर्दा-गर्दै पनि यसरी नेपालीहरु गएर काम गरिरहनुभएको छ। अब यसमा हामी कसरी अगाडि बढ्ने भन्ने विचार गर्नुपर्ने अवस्था छ।''

इराकमा रहँदा नेपाली कामदारहरुबारे अर्को तथ्य पनि उजागर भएको मैनालीले बताएका छन्।

उनका अनुसार घरेलु कामदारका रुपमा भारत हुँदै दुबईबाट इराकको कुर्दिस्तान पुर्याइने नेपाली महिलाहरुलाई दलालहरुले करिब सात हजार अमेरिकी डलरमा बेच्ने गरेको पाइएको छ।

त्यस्ता महिलाहरु करिब दुई हजारको संख्यामा रहेको अधिकारीहरुको अनुमान छ।