‘तरकारीमा विषादी प्रयोग घट्दै’

  • 12 अगस्ट 2014
Image caption तरकारीमा विषादीको चेकजाँच अन्य पाँच ठाउँमा पनि गर्न प्रस्ताव गरिएको छ

तरकारीमा विषादीको चेकजाँचले कृषकमा जनचतेना बढाएको हुनसक्ने भन्दै काठमाडौंको मुख्य तरकारी बिक्रि केन्द्रमा विषादी प्रयोग भएका तरकारीहरु आउने क्रम घटेको एक अधिकारीले बताएका छन्।

अघिल्लो महिना कालीमाटी तरकारी बजारमा विषादीको चेकजाँच गर्दा अत्यधिक विषादी प्रयोग गरिएका तरकारीहरु बिक्रि गर्ने गरिएको पाइएको बाली संरक्षण निर्देशनालयले बताएको थियो।

तर साउन महिनामा उच्च मात्रामा बिषादी प्रयोग गरिएका तरकारी बजारमा ल्याउने क्रम ह्वात्तै घटेको निर्देशनालयका महानिर्देशकको भनाई छ।

कालीमाटी बाहेक देशका अन्य पाँच स्थानमा पनि विषादीको चेकजाँच गर्न प्रयोगशाला बनाउन पनि प्रस्ताव गरिएको छ।

चेकजाँच

असार ४ गतेदेखि कालीमाटीमा सुरु भएको विषादी चेकजाँचमा १ महिनामा १ सय ८७ तरकारीको नमुनामध्ये २६ वटामा खानै नहुनेगरि विषादीको प्रयोग भएको पाइएको थियो।

उक्त परिक्षणक्रममा साउन महिनामा भने ९५ मध्ये जम्मा २ वटामा मात्रै देखिएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका महानिर्देशक डिल्लीराम शर्माका अनुसार जाँचपछि कृषकहरुमा विषादी कसरी प्रयोग गर्ने विधिबारे कृषकहरुमा चेतना बढेको बताए।

उनले भने, "उहाँहरु धेरैले सञ्चारमाध्यममार्फत जानकारी पाउनुभयो, त्यसले गर्दा उहाँहरुले सुरक्षित तरिकाले विषादी प्रयोग गर्न थाल्नुभयो र अहिले बढी विषादी भएका तरकारीहरु कालीमाटी बजारमा आउन धेरै कम भएको छ।''

आशंका

सरकारले मुलुककै मुख्य तरकारी केन्द्रमा चेकजाँच गर्नथालेपछि व्यापारीहरुले तरकारी अन्यत्रै पुर्याउन थालेका हुन् कि भन्नेमा धेरैले आशंका व्यक्त गरिरहेका छन्।

त्यस्तो सम्भावनालाई नकार्न नसकिने भन्दै अन्य क्षेत्रमा पनि प्रयोगशाला बनाउन मन्त्रालयसँग प्रस्ताव गरेको शर्माले बताए।

उनका अनुसार यसै बर्षमा पाँच ठाउँमा प्रयोगशाला स्थापना गर्न कृषि विभाग र कृषि मन्त्रालयमा प्रस्ताव पठाइएको छ।

चेकजाँच गर्ने उपकरणको व्यवस्था गर्ने खासै महंगो नपर्ने भन्दै विषादी प्रयोगमा कृषकलाई निरुत्साहित गर्न सरकारको इच्छाशक्ति भए पुग्ने जानकारहरुको भनाई छ।