इराकको नयाँ नेतृत्वलाई अमेरिकी समर्थन

  • 12 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति ओबामाले इराकमा समावेशी सरकार बन्ने विश्वास व्यक्त गरेका छन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकको नयाँ प्रधानमन्त्रीका रुपमा हैदर अल अबादीको मनोनयन गरिनु त्यहाँ जारी संकट समाधानको लागि सकारात्मक पहल भएको बताएका छन्।

विभिन्न समुदायहरुलाई समेटेर चाँडै सरकार निर्माण गर्न उनले इराकका नयाँ नेतालाई सुझाव दिएका छन्।

सोमबार इराकी राष्ट्रपतिले हालका प्रधानमन्त्री नुरी अल मलिकीको सट्टा संसदका सभामुख रहेका अबादीलाई नयाँ सरकार बनाउन आव्हान गरेका थिए।

तर बहिर्गमित प्रधानमन्त्री मलिकिले आक्रोशित प्रतिक्रिया जनाउँदै नयाँ प्रधानमन्त्रीको मनोनयनले संविधान मिचेको बताएका छन्।

समर्थन

मार्थाज भिनयार्डमा विदा मनाइरहेका राष्ट्रपति ओबामाले नयाँ नेतृत्वको लागी समावेशी रुपमा शासन चलाएर इराकी जनताको विश्वास आर्जन गर्नु जटिल चुनौती भएको बताए।

उनले भने, “इराक संकटका लागि अमेरिकासँग कुनै सैनिक समाधान छैन्, एक मात्र दीर्घकालीन समाधान भनेको इराकीहरु आफैँ मिलेर एउटा समावेशी सरकार निर्माण गर्नु हो।”

उनले अमेरिका इराकी जनताका आवश्यकता र गुनासाहरु सम्बोधन गर्ने सरकारलाई समर्थन गर्न तयार रहेको बताए।

तर उनले इराक संकटको लागि कुनै अमेरिकी सैन्य समाधान नरहेको भन्दै इराकमा निर्माण हुने समावेशी सरकारले मात्रै उग्रवादीहरुसँग लड्न सक्ने बताए।

इस्लामिक स्टेट सम्बद्ध उग्रवादीहरुले हालैका महिनाहरुमा उत्तरी इराकमा महत्वपूर्ण उपलब्धि हात पारेका छन्, जसका कारण दशौँ हजार धार्मिक अल्पसंख्यकहरु घर छाडेर भाग्न बाध्य भएका छन्।

अमेरिकाले उग्रवादी विरुद्धको सैन्य कारवाहीका क्रममा विमानबाट गोलाबारी गरिरहेको छ।

त्यसबाहेक पहाडमा अलपत्र परेका याजिदी समुदायका मानिसहरुका लागि खानेकुरा समेत विमानबाट झार्दै आएको छ।

विरोध

तस्वीर कपीराइट Reuters
Image caption पहाडमा अलपत्र परेका अल्पसंख्यक समुदायहरुका लागि अमेरिकी र ब्रिटिश विमानहरुले खानेकुराहरु खसालिरहेका छन्

उग्रवादीहरुसँग लडिरहेका कुर्द लडाकूहरुलाई अमेरिकाले हतियारसमेत उपलब्ध गराएको एसोशिएटेड प्रेसलाई बरिष्ठ अमेरिकी अधिकारीले बताएका छन्।

फ्रान्स र टर्कीका राष्ट्रपतिले पनि अबादीको मनोनयनलाई स्वागत गरेका छन्।

विश्लेषकहरुले अबादीको मनोनयन र अनुमोदन गएको अप्रिलमा भएको चुनावमा सबैभन्दा बढि मत ल्याएको गठबन्धनका नेता मलिकीका लागि गम्भीर राजनीतिक धक्का भएको बताएका छन्।

एउटा विभाजकारी नेताको रुपमा हेरिदै आएका मलिकीले तेश्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने इच्छा देखाएका थिए तर उनको आफ्नै सिया गठबन्धनका धेरै नेताहरुले अदाबीलाई समर्थन गरेका छन्।

टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले संविधान मिचेर गम्भिर गल्ती गरिएको र आफूले त्यसलाई सच्च्याउने प्रतिबद्धता जनाएका छन्।