'बौद्ध सर्किटमा लुम्बिनीमात्रै जोड्दा घाटा'

  • 13 अगस्ट 2014
Image caption संयुक्त राष्ट्रसंघले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेको छ

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई मात्र भारतसँगको प्रस्तावित बौद्ध सर्किटमा जोड्दा नेपाललाई नाफा भन्दा नोक्सान बढी हुने लुम्बिनी विकाष कोषले बताएको छ।

कोषका अनुसार लुम्बिनीलाई मात्र छुने गरी बौद्ध सर्किट वनाउने हो भने बुद्धसँग जोडिएका नेपालका अन्य महत्वपुर्ण क्षेत्रहरु ओझेलमा पर्न जानेछन्।

त्यसको कारण अहिले ती क्षेत्रमा आउने पर्यटकहरुलाई पनि नेपालले गुमाउनु पर्ने चिन्ता अधिकारीहरुको छ।

हालै भारतबाट भएका उच्चस्तरिय नेपाल भ्रमणमा क्रममा भारतले निर्माण गरिरहेको बौद्ध सर्किटमा लुम्बिनीलाई पनि जोडनुपर्ने कुरा चर्चामा आएको थियो।

नोक्सान

भारतले बोधगया सारनाथ र कुसीनगरसंग जोड्ने गरी करीव ७ सय किलोमिटर क्षेत्र समेटेर वौद्ध सर्किट वनाउने कामलाई तिब्रता दिएको छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतको बोधगया, सारनाथ र कुसीनगरसंग जोड्ने गरी बौद्ध सर्किट वनाउने काम शुरु भईसकेको छैन।

तर गतहप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण देखि त्यस अघि विदेश मन्त्री सुष्मा स्वराज नेपाल आउँदा समेत चर्चामा ल्याईएको मध्येको यो एक मुख्य विषय थियो।

लुम्बिनीको विकासका लागि प्रस्तावित उक्त वौद्ध सर्किट फलदायी हुनसक्ने विश्वास नेपालको तर्फवाट गरिएको भए पनि लुम्विनीलाई मात्र जोड्दा यसले उल्टो असर गर्ने लुम्बिनि विकास कोषको आँकलन छ।

कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्ग्बो शेर्पाका अनुसार प्रस्तावित सर्किटमा बुद्धले युवाअवस्था बिताएको कपिलवस्तुको तिलौराकोट र बुद्धको अष्टधातु रहेको भनिएको नवलपरासीको रामग्राम पनि जोड्नुपर्ने बताउँछन्।

उनले भने, “तिलौराकोट र रामग्राम क्षेत्र प्रस्तावित सर्किटमा नराख्ने हो भन्ने भारतसँग जोडीनुको कुनै अर्थ छैन्, बरु नेपाली वौद्ध सर्किट बनाएर विदेशी पर्यटकहरुलाई आकर्षित गर्नुपर्छ।”

पर्यटन

अहिले भारत हुदै आउने विदेशी पर्यटकहरु मुश्कीलले केहि घण्टा मात्र लुम्बिनीमा बिताउँछन्।

भारतीय पथ प्रदर्शकवाट निर्देशित उनीहरु केहि घण्टा लुम्बिनी घुमेर वास वस्नका लागि भारतनै पुगेका हुन्छन्।

उपाध्यक्ष शेर्पाका अनुसार यदी वौद्ध सर्किटले रुपन्देहीको लुम्बिनीलाई मात्र जोड्ने हो भने बुद्धसंग सम्वन्धित कपिलवस्तुको तिलौराकोट नवलपरासीको रामग्राम लगाएतका महत्वपुर्ण क्षेत्रहरु सधै ओझेलमा पर्ने छन्।

हाम्रा बुटवल सम्वाददता माधव नेपाल भन्छन्, करीव ५० किलोमिटर क्षेत्र भित्र पर्ने बुद्धसंग जोडिएका क्षेत्रमा पुग्नका लागि पश्चीम नेपालमा न राम्रो बाटो छ न त भएका बाटोमा सार्वजनिक सवारीका साधन नै चल्छन्।