'नेपालमा इबोला भित्रिन नदिने पूर्ण तयारी'

  • 13 अगस्ट 2014
तस्वीर कपीराइट TIA
Image caption अधिकारीहरुका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कहरु राखिनेछ

पश्चिम अफ्रिकामा तीव्ररुपमा फैलिरहेको घातक इबोला भाइरस नेपालमा भित्रिन सक्ने चिन्ता व्यक्त भैरहेका बेला त्यसो हुन नदिनका लागि आवश्यक सबै तयारीहरु पुरा गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।

त्यस निम्ति हाल इबोला प्रभावित देशहरुबाट आउने यात्रुलाई विशेष निगरानीमा राखी स्वास्थ्य परीक्षणपछि मात्र आगमनको अनुमति दिने व्यवस्था बिहीबारबाट शुरु गरिने भएको छ।

पूर्व तयारीका लागि बुधबार बसेको उच्चस्तरीय बैठकले रोग पत्ता लगाउन आवश्यक पर्ने विशेषज्ञ र प्रयोगशालाका लागि विश्व स्वास्थ्य संगठनलाई औपचारिक रुपमा अनुरोध गरेको छ।

इबोला भाइरस नेपालमा पनि भित्रिन सक्ने चिन्तामाझ स्वास्थ्य मन्त्रालयले बुधबार डाकेको सरोकारवालाहरुको उच्चस्तरीय बैठकले सावधानी अपनाउन विभिन्न मन्त्रालय र विभागले गर्नु पर्ने कामहरुको बाँडफाँड गरेको छ।

त्यसअनुसार अन्तर्राष्ट्रिय विमास्थलमा बिहिबारदेखि नै चिकित्सकसहितको स्वास्थ्य परीक्षण डेस्क स्थापना गरेर काम शुरु गरिने र भारत र चीनसँग रहेका नाकाहरुमा पनि त्यो काम छिट्टै शुरु हुने उक्त बैठकपछि स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए।

निगरानी

उनले भने, ''अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखीसकेका छौं। बिहिबारदेखि नै शुरु गर्छौँ। सीमाका सम्भावित प्रभावित क्षेत्रमा समेत यो सम्बन्धी निगरानीको व्यवस्था पनि गरेका छौँ। अञ्चल अस्पतालमै आइसोलेसन वार्डहरु राख्ने र केन्द्रीय अस्पतालहरुमा पनि राख्ने व्यवस्था गर्दैछौँ।''

यसलाई अझै प्रभावकारी बनाउन सीमा जोडिएका दुवै देशका अधिकारीहरुसँग समन्वयको निम्ति गृह, परराष्ट्र र स्वास्थय मन्त्रालयले संयुक्त रुपमा बैठक गर्ने समेत तयारी गरेको उनले बताए।

बैठकका सहभागीहरुले इबोला भाइरस लागेपछि देखिने लक्षणहरु धेरै रोगहरुसँग मिल्दा जुल्दा हुने भएकाले यकीन गर्न कठिन हुने धारणा राखेपछि इबोला भाइरसका लागि विशेषज्ञ र प्रयोगशालाकाको व्यवस्था मिलाइदिन नेपाल सरकारकातर्फबाट विश्व स्वास्थ्य संगठनलाई अनुरोध गर्ने समेत निर्णय गरेको मन्त्री अधिकारीले बताए।

"व्यवहारमै जानका निम्ति अब हामीलाई प्राविधिक विज्ञहरुको जरुरी भएको हुनाले विश्व स्वास्थ्य संगठनलाई प्रबन्ध गरिदिन अनुरोध गरिसकेका छौं," उनले भने।

सरकारले हाल इबोला प्रभावित देशहरुमा नजान सबैलाई आग्रह समेत गरेको छ।

प्रभावित

हाल नेपालबाट शान्ति सेनाका रुपमा इबोला प्रभावित देशहरुमा कार्यरत नेपाली सेना र नेपाल प्रहरीलाई देशमा फर्किए पछि उनीहरुकै विभागीय अस्पतालहरुमै निगरानी गर्नै व्यवस्था मिलाएको उनले बताए।

यही रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।

पश्चिम अफ्रिकी देशहरु लाइबेरिया, नाइजेरिया र सियरा लिओनमा फैलिएको इबोला भाइरसबाट हालसम्म १ हजार जना भन्दा बढीले ज्यान गुमाइ सकेको र २ हजारभन्दा बढी प्रभावित भइसकेको बताइएको छ।

हालसम्म इबोलाको संक्रमणसँग जुध्ने औषधी वा भ्याक्सिन पत्ता लागिसकेको छैन।

तर स्वास्थ्य मन्त्रालयले हालसम्म इबोलाको संक्रमण नेपालमा नदेखिएकाले त्यसबारे सावधान रहन तर भयभीत नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।