फ्रान्सले कुर्दहरुलाई हतियार पठाउँदै

  • 13 अगस्ट 2014
तस्वीर कपीराइट
Image caption कुर्दहरुलाई हतियार पठाउने फ्रान्सको निर्णयले धेरैलाई आश्चर्यमा पारेको बताइएको छ

उत्तरी इराकमा जारी जिहादी लडाकुहरुको कारवाहीलाई रोक्न र द्वन्द्वका कारण विस्थापित भएका दशौं हजार मानिसहरुलाई सघाउन अन्तर्राष्ट्रिय प्रयासहरुले तीव्ररता पाईरहँदा फ्रान्सले कुर्द लडाकुहरुलाई हातहतियार पठाउन लागेको घोषणा गरेको छ।

फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले आफ्नो सरकारले इराकमा इस्लामिक स्टेटका लडाकुहरुसँग भिडिरहेका कुर्दहरुलाई हातहतियार पठाउन लागेको बताएका छन्।

सिन्जिर पर्वतमा फसिरहेका करिब ३० हजार याजिदीहरुलाई सघाउने विभिन्न विकल्पहरु सुझाउन एक सयभन्दा बढी अमेरिकी सैन्यहरु उत्तरी इराक पुगेका छन्।

हजारौं याजीदिहरु फसिरहेको सिन्जार पर्वतलाई इस्लामिक स्टेटका लडाकुहरुले घेरिरहेका छन्।

हातहतियार

अमेरिकी विदेशमन्त्री जोन केरीले वासिङटनले त्यहाँको अवस्थाको द्रूत जानकारी लिइरहेको बताए।

फ्रान्सका राष्ट्रपति ओलान्दले चाहिँ आउने केही घन्टाभित्रै इस्लामिक स्टेटका विद्रोहीहरुको सामना गरिरहेका कुर्द लडाकुहरुका लागि आफ्नो देशले हातहतियार पठाउन लागेको बताएका छन्।

त्यसका निम्ति फ्रान्सले बगदादका अधिकारीहरुबाट स्वीकृति प्राप्त गरिसकेको फ्रान्सका सञ्चारमाध्यमहरुले जनाएका छ्न्।

पेशमर्गा भनिने कुर्दीस फौजका निम्ति अमेरिकाले हातहतियार पठाउन थालिसकेको बताइएको छ।

सहयोग

ओलान्दको कार्यालयले जारी गरेको वक्तव्यमा कुर्दिस्तानका क्षेत्रीय अधिकारीहरुले तत्काल आवश्यक परेको भनेपछि फ्रान्सले पछिल्लो कदम चालेको बताइएको छ।

सो वक्तव्यमा भनिएको छ, फ्रान्सले इस्लामिक स्टेटका विद्रोहीहरुसँग लडिरहेका फौजहरुको निम्ति आवश्यक सहयोग जुटाइरहेको थियो।

उसले इराकी कुर्दिस्तानका जनताले भयावह अवस्थाको सामना गर्नुपरेकोले अब अन्तर्राष्ट्रिय समुदायले ठोस कदमहरु चाल्नुपर्नेमा जोड दिएको छ।

संयुक्त राष्ट्रसंघले पनि सिन्जर पर्वतमा फसिरहेका दशौं हजार याजिदीहरुको निम्ति मानवीय सहायता आवश्यक रहेकोमा जोड दिएको छ।