ऊर्जा सम्झौता वार्ताबारे टोली पठाउने तयारी

  • 13 अगस्ट 2014
Image caption ऊर्जामन्त्री राधा ज्ञवालीले दुवै मुलुकलाई फाइदा हुने गरी ऊर्जा व्यापार सम्झौता गरिने बताएकी छन्

नेपालमा निकै महत्व र चासोका साथ हेरिएको ऊर्जा व्यापार सम्झौता (पीटीए) बारे वार्ताका लागि भारतले निम्तो पठाएपछि उत्साहित बनेको नेपालको ऊर्जा मन्त्रालयले त्यसबारे आन्तरिक तयारी शुरु गरेको जनाएको छ।

भारतसँग छलफलका लागि नयाँ दिल्ली पठाइने टोलीबारेको प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा पेस गर्ने तयारी भईरहेको ऊर्जामन्त्रीले बताएकी छन्।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला ४५ दिनभित्र पीटीए टुंग्याउने समझदारी भएअनुसार नै सहमतिमा पुग्न सकिने अधिकारीहरुको विश्वास छ।

नेपाल भ्रमण सकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केको दुई साता नबित्दै भारतीय पक्षले ऊर्जा व्यापार सम्झौता (पीटीए) सम्बन्धमा छलफलका लागि नेपाली पक्षलाई नयाँ दिल्ली आउन निम्तो पठाएको हो।

वार्ता

छलफलका लागि भारतीय पक्षबाट यति छिट्टो पत्र प्राप्त भएपछि हौसिएको ऊर्जा मन्त्रालयले त्यसबारे अन्य सम्बन्धित पक्षसँग परामर्श थालिसकेको जनाएको छ।

ऊर्जामन्त्री राधा ज्ञवालीले वार्ताका लागि भारत पठाईने सचिवसहितको टोलीबारे छलफल भईरहेको बताईन।

उनले थपिन, ''अब हामीले टोलीको तय गरेर मन्त्रिपरिषद्को आगामी बैठकमा नामहरु प्रस्ताव गर्दैछौं। र, मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि हाम्रो टोली भारत जान्छ। मैले मिति नै नतोकौं, छिट्टै टोली जान्छ।''

पीटीएका लागि नेपालले सन् २०१० मै प्रस्ताव पठाएपनि कुनै प्रतिक्रिया नजनाएको भारतले तीन महिनाअघि मात्र आफ्नो तर्फबाट प्रस्तावित सम्झौताको मस्यौदा पठाएको थियो।

प्रस्ताव

लगत्तै नेपालले तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता गर्न सक्ने लगायतका प्रावधानसहितको प्रस्ताव पठायो।

नेपालको त्यस्तो जवाफ पाउनासाथ त्यसबारे भारतीय पक्ष मौन भएपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला पीटीएमा हस्ताक्षर हुन सकेन।

तर राजनीतिक दल र विज्ञहरुसँग छलफल गरी टुंगो लगाइसकिएको भन्दै नेपालको प्रस्तावमा कुनै हेरफेर नगरी भारतसँग वार्ता हुने मन्त्री ज्ञवालीको भनाई छ।

उनी भन्छिन्, ''हाम्रो दस्तावेज हामीले आधिकारिक ढंगले मन्त्रालयतहबाट पठाईसकिएको हो। अब छुट्टै हामीले पठाउनुपर्दैन। भारतले यो ऊर्जा व्यापार सम्झौताका लागि नेपालले प्रस्ताव गरेकोमा नकार्नुपर्ने मैले कुनै पनि कुरा देखेको छैन।''

पीटीएबारे भारतले वार्ताका लागि नेपाली पक्षलाई निम्तो पठाएर अग्रसरता देखाएपछि नेपाली प्रस्तावमा उसले जनाउने प्रतिक्रियालाई चासोका साथ हेरिएको छ।