संघर्षविराम लगत्तै गाजामा हमला

  • 14 अगस्ट 2014
तस्वीर कपीराइट AFP
Image caption जुलाइ यता १९ सय प्यालेस्टिनी इजरेली आक्रमणमा मारिएका छन्

इजरेल र हमासबीच संघर्षविरामलाई थप पाँच दिन निरन्तरता दिएर गाजामा जारी द्वन्दको समाधान खोज्ने सहमति भए लगत्तै आफूमाथि रकेट आक्रमण भएको भन्दै इजरेलले हवाई हमला गरेको छ।

इजरेली सेनाले गाजाबाट कम्तीमा पाँच वटा रकेट आक्रमण भएपछि आफूले गाजामा रहेका सम्भावित आतंकवादी ठेगानाहरुलाई निशाना बनाएको बताएको छ।

तर प्यालेस्टिनी विद्रोही समूह हमासले पछिल्ला आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ।

थप गरिएको संघर्षविरामको अवधिमा गाजा द्वन्दको दीर्घकालिन समाधान खोज्न दुवै पक्षले प्रयत्न गर्ने ठानिएको छ।

बल्लतल्ल

कायरोमा भएको अप्रत्यक्ष वार्तामा तीने दिने संघर्षविरामको अवधि सकिनु केही मिनेट अघि मात्र इजरेल र हमास संघर्षविराम लम्ब्याउन तयार भएका थिए।

पछिल्ला हमलालाई दुइ मध्ये एक पक्षले संघर्षविराम भंग भएको रुपमा लिन्छन कि लिदैँनन् भन्ने हालसम्म प्रष्ट भैसकेको छैन्।

तर प्यालेस्टिनी सुत्रहरुले संघर्षविरामको थपिएको समयले सहमतिका लागी वार्तालाई निरन्तरता दिन मौका उपलब्ध गराउने बताएका छन्।

कायरो वार्तामा प्यालेस्टिनी टोलीको नेतृत्व गरेका अजाम अल अहमदले भने, “अन्तिम समयमा ‌आएर संघर्षविरामको अवधिलाई सोमबारसम्म लम्ब्याउने सहमति भएको हो, प्यालेस्टीनी प्रतिनिधिमण्डल अब राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी नेतृत्वसँग छलफल गर्न रमल्हा जानेछ।”

कठिन

तस्वीर कपीराइट EPA
Image caption सोमबारसम्म संघर्षविराम गर्ने सहमति भए लगत्तै गाजामा हवाई आक्रमण भएको खबर आएको हो

गाजामा रहेका बीबीसीका केभीन कोनोल्ली भन्छन् भविष्यमा हुने वर्ताहरु निक्कै कठीन हुने देखिन्छ।

कायरो वार्तामा दुवै पक्षले इजिप्टेली मध्यस्तकर्ता मार्फत आफ्ना मागहरु प्रस्तुत गरिरहेका छन्।

इजरेलले गाजाको पूर्ण निशस्त्रीकरणमा जोड दिइरहेको छ भने हमासले इजरेलले गाजामा लगाएको नाकाबन्दी फिर्ता लिनुपर्ने माग गर्दै आएको छ।

इजेरेली सेनाले बुधवार साझ गाजाबाट कम्तिमा ५ वटा रकेट हमला भएको बताएको छ।

तर त्यसका कारण कुनै क्षती भएको विवरण प्राप्त भएको छैन्।

हमास लडाकूहरुले रकेट आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

गएको जुलाईमा इजरेलले फौजी कार्वाही सुरु गरे यता गाजामा अहिलेसम्म झन्डै १९ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्।