'इराकमा उच्चस्तरको आपत्काल'

  • 14 अगस्ट 2014
तस्वीर कपीराइट Reuters
Image caption कुर्दहरुले इस्लामिक स्टेटका लडाकुहरुको कडा सामना गर्नुपरेको बताइएको छ

विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरु उत्तरी इराकमा तीव्र गतिमा अघि बढेपछि संयुक्त राष्ट्रसंघले त्यहाँ, उसकै शब्दमा, अहिलेसम्मकै सबैभन्दा उच्चस्तरको आपत्काल घोषणा गरेको छ।

त्यहाँ उत्पन्न मानवीय संकटका कारण इराकमा अहिलेसम्मकै सबभन्दा उच्चस्तरको आपत्काल आइपरेको राष्ट्रसंघले जनाएको छ।

कुर्दिश अधिकारीहरुका अनुसार डेढ लाख शरणार्थी रहेका दोहुक शहरको अवस्था नाजुक छ।

राष्ट्रसंघका अनुसार इराकमा हालसालै आन्तरिक विस्थापित हुनेको संख्या १२ लाख पुगेको छ।

उस्तै आपत्कालीन स्थिति सिरिया, दक्षिण सुडान र मध्य अफ्रिकी गणतन्त्रमा पनि विद्यमान छ।

आपतकाल

राष्ट्रसंघले गरेको ३ तहको आपत्काल घोषणापश्चात अब थप स्रोतहरुको परिचालन तथा मानवीय आवश्यकताको प्रभावकारी सम्बोधन गर्न सहज हुने बताइन्छ।

राष्ट्रसंघका विशेष प्रतिनिधि नोकोलाइ म्लादेनोभका अनुसार माउन्ट सिन्जारमा विस्थापितहरुको अवस्था चिन्ताजनक छ।

घर छाड्न वाध्य पारिएका खासगरी क्रिश्चियन तथा यजिदि धार्मिक अल्पसंख्यकहरुसहित उक्त क्षेत्रमा हाल दशौं हजार मानिसहरु रहेका छन्।

विद्रोहीहरुबाट जोगिन उत्तरी इराकका पहाडी इलाकामा शरण लिइरहेका यजिदिहरुको उद्धारका लागि कारवाही गर्ने सम्भावना अब कम भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ।

पहुँच

पहिले ठानिएभन्दा कम संख्यामा यजिदिहरु फँसिरहेको र खाना तथा पिउने पानीसम्म उनीहरुको पहुँचपनि सोचिएभन्दा राम्रो रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार उत्तरी इराकको माउन्ट सिन्जार क्षेत्रमा फँसिरहेका यजिदिहरुको संख्या पहिले ठानिएभन्दा निकै कम छ।

सो क्षेत्रको अवलोकन गरेको अमेरिकी टोलीका अनुसार ती यजिदिहरुको खाना तथा पानीमा रहेको पहुँचपनि सोचिएभन्दा निकै बढी छ।

पछिल्लो खबरहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस कमिटिले उत्साहजनक भनेको छ।

उसले भनेको छ, त्यहाँबाट भागेका हजारौंलाई मद्दत गर्ने कार्य अब बल्ल शुरु हुनेछ।