'बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ५३'

  • 15 अगस्ट 2014
तस्वीर कपीराइट Nepal Army
Image caption दार्चुलामा गत वर्ष बाढीका कारण कयौंको ज्यान गएको थियो।

पछिल्लो तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर ज्यान गुमाउने मानिसहरुको संख्या शुक्रबारसम्म ५३ पुगेको अधिकारीहरुले बताएका छन्।

हालसम्म ७५ जना बेपत्ता रहेको र ३५ जना घाइते भईको बताइएको छ।

बाढी र पहिरोबाट हालसम्म २५ भन्दा बढी जिल्लाहरु प्रभावित भएका छन्।

१५ जिल्लामा मानिसहरुको ज्यान गएको छ।

यसको सबैभन्दा बढी असर मध्यपश्चिममा परेको छ।

बिहीबारसम्म पूर्वी र मध्यक्षेत्रमा देखिएको वर्षाको प्रभाव बिहीबार मध्यरातदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा परेको छ।

सबैभन्दा बढी क्षति मध्यपश्चिमका सुर्खेत, बर्दिया, दाङ र बाँकेमा भएको अधिकारीहरुले बताएका छन्।

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरभित्र बग्ने इत्राम खोला र खोरके खोलाले त्यसको आसपासको बस्ती बगाएको छ।

असर

अर्को मुख्य असर सुर्खेत जिल्ला हुँदै बग्ने भेरी नदीले गरेको छ।

शुक्रबार साँझसम्म सुर्खेतमा २१ जनाको ज्यान गएको र ४४ जना बेपत्ता भएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए।

सुर्खेतमा पछिल्लो २४ घण्टामा ४ सय २३ मिलिमिटर पानी परेको बताइएको छ, जुन परिमाण यसअघिको १६९ मिलिमिटरको रेकर्डभन्दा दोब्बरभन्दा बढी हो।

बर्दियामा कर्णाली र बबई दुईवटै नदी बस्तीमा पस्दा सदरमुकाम गुलरिया लगायत राजापुर क्षेत्रका विभिन्न गाउँ विकास समितिका सयौं घर डुबानमा परेको बताइएको छ।

बर्दियामा ज्यान गुमाउनेको संख्या ५ रहेको छ भने १५ जना बेपता भएका छन्।

६ हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन्।

डुबानका कारण अलपत्र परेकामध्ये हालसम्म ३ सय उद्धार गरिएपनि थुप्रै मानिसहरुको उद्धार गर्न बाँकी रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।

बबइ नदीले नदीको मुहान क्षेत्रमा पर्ने दाङमा समेत ठूलो असर गरेको छ।

त्यहाँ ६ जनाको मृत्यु भएको र दुई बेपत्ता रहेको बताइएको छ।

डुबान

दाङमा बबै नदीका अलावा राप्ती नदीले समेत बस्तीमा पसेर सयौं घर डुबान गरेको बताइएको छ।

गृह मन्त्रालयका अनुसार जाजरकोटमा ४ जना, ललितपुर र गोर्खामा ३/३ जनाको ज्यान गएको छ।

बाढीपहिरोबाट हालसम्म २५ भन्दा बढी जिल्ला प्रभावित भएको र १५ जिल्लामा मानिसहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाले बताए।

ती जिल्लाहरूमा शुक्रबार दिउँसोदेखि पानी पर्न रोकिएपनि हेलिकप्टरको अभावमा उद्धारको काम प्रभावकारी ढंगले हुन सकेन।

फेरि पानी पर्ने डरले त्यस क्षेत्रका मानिसहरु अहिले पनि भयभीत रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता शिव नेपालले भने वर्षातको मात्रा घट्दो क्रममा रहेको बताएका छन्।

उनले भने, ''पूर्वी र मध्य भागमा वर्षा शुक्रबारदेखि नै कम हुनथाल्यो। बिहीबारदेखि वर्षा एकदमै कम हुनेछ।''

तीन दिनसम्म लगातार पानी पर्ने कुरा पहिले नै थाहा हुँदा पनि सरकारले तयारी नगरेको भन्दै प्रभावित क्षेत्रका मानिसहरुले सरकारको आलोचना गरेका छन्।

अहिले पनि कतिपय मानिसहरु विद्यालय र घरका छतहरुमा बसेर उद्धारको पर्खाइमा रहेको बताइएको छ।