सरकारप्रति बाढी पीडितको गुनासो

  • 16 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption राहत मध्यपश्चिमलगायत अन्य तराइ भेगमा पुग्न नसकेको पीडितहरुको गुनासो छ।

तीनदिनको लगातार वर्षाले ठूलो मानवीय र भौतिक क्षति ब्यहोरोको मध्यपश्चिम क्षेत्रमा सरकारले राहत र उद्धार कार्य तीव्र पारेको बताएपनि कतिपय प्रभावितहरुले अहिलेसम्म राहत नै नपुगेको गुनासो गरेका छन्।

शनिबार दिउँसोसम्म लगातार परेको पानीले ती क्षेत्रमा बाटो, विजुली र खानेपानीलाई समेत नराम्ररी प्रभावित तुल्याएको छ।

पछिल्लो सरकारी आँकडा अनुसार पछिल्ला केही दिनमा देशभर बाढीबाट ज्यान गुमाउने मानिसहरुको संख्या ८५ पुगेको छ।

५० भन्दा बढी घाइते तथा १ सयभन्दा बढी बेपत्ता भएको र ५ हजार भन्दा बढी घर डुबानमा पर्दा झन्डै २० हजार मानिसहरु विस्थापित भएको सरकारले जनाएको छ।

मध्यपश्चिमका जिल्लामध्ये सबैभन्दा बढी प्रभावित बर्दियामा दुई दिन अघि घर बगाएपछि केही टाढाको स्कुलमा ओत लाग्दै आएका नेउलापुर गाविसका महिलाहरुले खाने कुरा र बस्ने वासको दुख भएको बताए।

आशा

२८ वर्षकी लल्की थारुले रुँदै आफ्नो दुख सुनाइन्, "बल्लबल्ल छोराछोरीलाई डोरीले तानेर बचायौं। खाने लाउने के होला सबै बगायो।"

त्यसतै नेउलापुर गाविसकै ललिता योगीको कथा पनि उस्तै छ।

उनले भनिन्, "बल्लबल्ल ज्यान जोगायौं। अब घरबार सबै बगायो। खाने लाउने कुरा छैन। के गरौंला, सरकार पनि आशामात्रै देखाउँछ।"

उनीहरु जस्तै उक्त जिल्लामा अन्य कैयौं अझै राहतको पर्खाइमा रहेको बाढीप्रभावितहरु तथा त्यहांस्थित सञ्चारकर्मीले जनाएका छन्।

त्यस्तै अर्को प्रभावित जिल्ला सुर्खेतमा पनि त्यहाँका बासिन्दाको अनुभव फरक छैन।

तिनैमध्येकी एक सुर्खेत वीरेन्द्रनगरकी छात्रा सरिता थापाले सरकारी निकायलाई बारम्बार आग्रह गर्दा पनि राहतका लागि ठोस केही नभएको गुनासो गरिन्।

तीव्रता

उनले भनिन्, "हामीले प्रहरीलाई पनि फोन ग-यौं, सुरक्षित स्थलमा बस्नुस् भनेका छन्, अहिलेसम्म कोहि आएको पनि छैन। अब के गर्ने हो खै?"

बर्दिया, सुर्खेत मात्रै नभइ त्यो भेगका बाँके र दाङ जिल्ला पनि उत्तिकै प्रभावित भएको बताइएको छ।

बाढीले कतिपय पुल र बाटो भत्किँदा राजमार्ग अवरुद्ध बनेको छ भने खानेपानीको अभाव बढ्दै गएको प्रभावितहरुले बताएका छन्।

तर सरकारले भने प्रभावित क्षेत्रमा उद्धार गर्ने तथा राहत पु-याउने कामलाई शुक्रबारदेखि तीव्र बनाइरहेको बताएको छ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख झङ्कनाथ ढकालले भने, "हामीले शनिबार दाङ, बर्दिया र सुर्खेतमा राहत सामग्री हेलिकप्टरबाट पु-याएका छौं। सरकारले तदारुकताका साथ राहत पु-याउने काम गरिरहेको छ।"

वर्षेनी आउने बाढी पहिरोका लागि पूर्वतयारी भनेर विभिन्न कार्यक्रम गरे पनि दैवीप्रकोपबाट हुने क्षतिका यस्ता घटनामा केही दिन बितिसक्दा पनि सरकारले राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन नसकेको कतिपयले गुनासो गरेका छन्।